काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। बुधबार मुख्यमन्त्री शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
रचना खड्का आर्थिक मामिला तथा योजनामन्त्री बनेकी छन् भने विजय सुवेदी सामाजिक विकासमन्त्री बनेका छन्। यस्तै शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।
यसैगरी प्रदीपकुमार कटुवाल स्वास्थ्यमन्त्री बनाइएका छन्। चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाक्यले दिएकी छन्।
जुनेलीमाया श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनाइँदा जीवन खड्का भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री बने। सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् भने बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन्।
भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्यले सोही दिन कृष्ण खनाल केशवराज पाण्डेलाई मन्त्री बनाएकी थिइन्। खनाल सामाजिक विकासमन्त्री बनेका थिए भने पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनेका थिए।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथ समेत गराएका छन्। यस्तै मन्त्रीहरूपछि राज्यमन्त्रीहरूले समेत सपथ लिएको बताइएको छ।