काठमाडौं– संघीय संसद्मा बुधबार दुईवटा नयाँ दलले प्रवेश पाउने भएका छन्। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले संसद्मा प्रवेश पाउने भएका हुन्।
नेकपा एकीकृत समाजवादी एमालेबाट विभाजित भएको हो। सो दलको नेता माधवकुमार नेपाल चयन भएका छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी जनता समाजवादी पार्टीबाट विभाजित भएको हो। यी दुवै दलले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन्।
‘दुई नयाँ पार्टी थपिएकाले संघीय संसद भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ।’ उनका अनुसार सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रहअनुसार नै गरिएको हो।