बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले विकासको नाममा नेपालको राष्ट्रियमाथि धावा बोल्न खोजेको आरोप लगाएका छन्। उनले एमसीसीमार्फत विकासको नाममा नेपाल प्रवेश गरेर चीनविरुद्ध नेपालमा अखडा जमाउने योजना लुकेको बताए।
नेपालको भूगोल प्रयोग गरेर चीनविरुद्व अमेरिकाले नेपालमा अखडा जमाउन खोजेको उल्लेख गर्दै एमसीसीमा नेपालको कानुनले केही गर्न नसक्ने अध्यक्ष केसीको दाबी छ। एमसीसी परियोजना संसद्बाट पास भए नेपालको कानुनले केही गर्न नसक्ने र अमेरिकाको कानुन हाबी हुने र नेपालको अस्तित्व संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ।
आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने अमेरिकाको योजना फेल गराउन आम नेपाली एकजुट हुनुको विकल्प नभएको अध्यक्ष केसीले बताए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले नेपालको भूगोल, जनसंख्या र सीमामाथि भारतले अतिक्रमण गरिरहेको बताए। उनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्व सडक र सदनबाट संघर्ष गर्नुपर्ने बताए।