काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलसँग संवाद गरेर एमसीसीलाई अघि बढाउने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले मंगलबार पार्टी संसदीय दलको बैठकमा यस्तो जानकारी दिएका हुन्।
एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुनी प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्। कांग्रेस संसदीय दलले संघीय संसद्को बुधबारबाट सुरु हुने बैठकमा संसद्मा विचाराधिन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ।
नेता देउवाले संसद् बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद् बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको भुसालले जानकारी दिइन्।
बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रीपरिषद्लाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने धारणा राखेका थिए। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा विचाराधिन राजनीतिक दलसम्बन्धि अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसदको पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराए।
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसदलाई जानकारी गराउने बताए। दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसदको पहिलो बैठकमा गृहमन्त्री खाँणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको सचेतक भुसालले बताइन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरी बजेट सम्बन्धि अध्यादेश पनि पारित गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।