शुक्रबार, भदौ ५, २०८३

विधानसहितका ऐतिहासिक दस्तावेजप्रति बेखबर कांग्रेस

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यको विवरण सफ्टवेयर प्रणालीमा इन्ट्री गराउने र वेबसाइटमार्फत सूची सार्वजनिक गरेर कांग्रेसले आफूलाई प्रविधिमैत्री बनाउने कोसिस गरेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले चलाउँदै आएको अभियान हो– प्रविधिमैत्री कांग्रेस। आज मंगलबारमात्रै विभागले ‘एनसी विन’ अर्थात् नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी विपक्षीको प्रतिवाद गर्न ‘वार रूम’ गठन गर्ने निर्णय विभागको छ।

‘प्रविधिमैत्री कांग्रेस’ मिठो सुन्दा मिठो लाग्छ, तर यथार्थमा कांग्रेस त्यस्तो छैन। कांग्रेसले न ऐतिहासिक दस्तावेजको संग्रह राख्न सकेको छ, न आफ्ना सदस्यहरुको हिसाबकिताब नै।  

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यको विवरण सफ्टवेयर प्रणालीमा इन्ट्री गराउने र वेबसाइटमार्फत सूची सार्वजनिक गरेर कांग्रेसले आफूलाई प्रविधिमैत्री बनाउने कोसिस गरेको छ। यसबाहेक अभिलेख राख्ने र दस्तावेज संग्रहित गर्ने मामलामा देखिएको भद्रगोलले ‘प्रविधि मैत्री कांग्रेस’ अभियानलाई नै गिज्याइरहेको छ।  

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेसका क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार थियो। अब जिज्ञासा उठ्छ– साढे आठ लाख क्रियाशील सदस्य भएको कांग्रेसमा साधारण सदस्य कति छन्? उत्तर कसैसँग छैन। किनकी कांग्रेसले साधरण सदस्यको हिसाबकिताब नै राखेको छैन।

सदस्यको अभिलेख मात्रै होइन, कांग्रेसले सात दशक लामो जीवनमा बनेका विधानसमेत सुरक्षित राख्न सकेको छैन। यसको मतलब कांग्रेस ऐतिहासिक दस्तावेज संग्रह गर्ने मामलामा निकै कमजोर छ। सानेपास्थित केन्द्रीय कार्यालयको अन्डरग्राउन्डमा रहेको पुस्तकालयको हरिबिजोग अवस्थाले यही कुरा प्रमाणित गर्छ। झट्ट हेर्दा पुस्तकालय हो कि पुराना सामान थन्क्याउने स्टोर भनेर समेत छुट्याउन गाह्रो पर्छ। 

‘राजनीतिक परिवर्तनको ‘मियो’मा आन्तरिक परिवर्तन कति? यस्ता छन् खुड्किला’ शीर्षकको सामग्री तयार गर्ने क्रममा नेपाल समयले कांग्रेसका सबै विधान खोज्ने प्रयास गरेको थियो। त्यही क्रममा खुल्यो– गर्विलो इतिहास भएको पार्टीको लज्जास्पद अभिलेख प्रणाली। 

कांग्रेसका विधानको संग्रह केन्द्रीय कार्यालयमा पाउन मुस्किल छ। केन्द्रीय कार्यालयमा विधानको संग्रह खोज्ने क्रममा कर्मचारी नै हैरान बनेका छन्। लामो समयदेखि विधानको संग्रह खोज्ने प्रयास भए पनि अहिलेसम्म सफलता हात लाग्न नसकेको कार्यालय सचिव प्रकाश शर्माले सुनाए।

‘पुस्तकालयमा सबै विधान हुनुपर्ने हो। लामो समय खोज्यौं, तर फेला पार्न सकेका छैनौं,’ शर्मा भन्छन्, ‘अहिलेसम्म बनेका (संशोधन भएका) विधान वेबसाइटमा राख्ने कोसिस गरिरहेका छौं। खोज्ने क्रम जारी रहँदा महाधिवेशनमा व्यस्त हुनुपर्ने भयो। अब महाधिवेशनपछि हामी त्यो गर्नेछौं।’ 

‘प्रविधिमैत्री कांग्रेस’को वेबसाइटमा अनलाइन लाइब्रेरी छ। तर, अनलाइन लाइब्रेरीमा कम्युनिस्ट घोषणापत्र छ, कांग्रेसका दस्तावेज छैनन्। लाइब्रेरीमा बाराक ओबामाको ‘ड्रिम्स फ्रम माइ फादर’, लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल महाकाव्य’, मार्क्स र एंगल्सले लेखेको ‘कम्युनिस्ट घोषणापत्र’, अमर्त्य सेनको ‘दि आइडिया अफ जस्टिस’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्नीमा’, ‘दोषी चस्मा’ र ‘श्वेतभैरवी’ पुस्तक छन्। 

लाइब्रेरीमा कांग्रेसका घोषणापत्र, विधानको संग्रह, पार्टीका महत्वपूर्ण दस्तावेज भने छैनन्। वेबसाइटमा दस्तावेज शीर्षकको क्याटगोरी छ। उक्त क्याटगोरीमा पूर्ण दस्तावेज छैनन्। उपलब्ध दस्तावेजलाई मात्रै राखिएको छ। 

प्रकाशित: Sep 07, 2021| 17:41 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...