काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नभएको एमसीसी पास नहुने बताएका हुन्।
मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास नहुने बताएका हुन्।
प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'हामीले एमसीसीबारे अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन। जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन।
उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्र सहमत नहुने बताएका हुन्। उनले भने, 'तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।'
एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेपाल आउने भ्रमण तालिका रहेको पूर्वसन्ध्यामा प्रचण्डले यस्तो कुरा बताएका हुन्। यसअघि सरकारले एमसीसीका विषयमा उठेका केही प्रश्नहरुबारे सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाएको थियो।
अध्यक्ष प्रचण्डले संसदीय व्यवस्थामाथि प्रश्न गरेका छन्। उनले भने, 'माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको छ। संसदवादले राम्रो काम गरेको छैन।'
उनले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।