काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ। विवाद नभएका जिल्लामा पनि वडा तहका अधिवेशन रोकिएको भन्दै पौडेल समूहले देउवाको ध्यानाकर्षण गराउन लागेको हो।
संसदीय दलको बैठक बस्नुअगाडि मंगलबार नै प्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर पौडेल समूहले देउवाको ध्यानाकर्षण गराउन लागेको हो।
‘आजै भेटेर ध्यानाकर्षण गराउँदै छौं,’ पौडेल समूहका एक नेताले भने। वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरु देउवालाई भेट्न बालुवाटार जाने ती नेताले बताए। देउवालाई भेटेर यथाशीघ्र वडा अधिवेशन गराउन दबाब दिने तयारी पौडेल समूहको छ ।
कांग्रेसमा २१ जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ। क्रियाशील विवाद समाधान समितिले क्रियाशील सदस्यता नवीकरण र वितरणमा देखिएको समस्या समाधान गर्न नसक्दा वडा अधिवेशन हुन नसकेको हो।