काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगो लागेका थप ५ जिल्लामा आज मंगलबार वडा अधिवेशन हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसले क्रियाशील सदस्यता टुंग्याएर विवरण दिएका ५७ जिल्लामध्ये ५ जिल्लामा आज वडा अधिवेशन हुने भएको हो। आज वडा अधिवेशन हुने जिल्लाहरूमा गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला रहेका छन्।
कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यता टुंगो लागेका ५७ मध्ये ४८ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुराको सदस्यता विवाद टुंगिएर निर्वाचन अधिकृतले आज छलफल राखेको बताए।
वडा अधिवेशन सुरु भएको ५ दिन भइसक्दा पनि कांग्रेसले २० जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन।
प्रदेश १ मा मोरङको सदस्यता सूची अझै सार्वजनिक भएको छैन। प्रदेश २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाको क्रियाशील सदस्यता टुंगिएको छैन। यसैगरी बागमती प्रदेशका काठमाडौंसहित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रसुवा गरी चार जिल्लाको क्रियाशील सदस्यता विवाद पनि टुंगिएको छैन।
गण्डकी प्रदेशका सबै जिल्लाको सदस्यता सूची सार्वजनिक भइसकेको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीको पनि विवाद टुंगिएको छैन ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १०–१२ कार्तिक र केन्द्रीय महाधिवेशन आगामी ९–१३ मङ्सिरसम्म तय गरेको छ ।