शनिबार, कात्तिक २९, २०८२

बंगाली स्वरमा ‘कलकत्तै काइँयो...’

नेपालीलेझैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बंगाली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो। धक फुकाएर लोकलयमा नेपालको गीत प्रस्तुत गरिँदा माहोल नै नेपालमय बन्यो।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडाैं- कलकत्ते काइँयो
केश मेरो बांगो टेबलमा ऐना छ
पिरती मैले नलाको हैन
तकदिरमा रहेनछ...
धानकै बाला झुलाउँला
मायालाई बोलाउँला...

National life

नेपालीलेझैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बंगाली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो। धक फुकाएर लोकलयमा नेपालको गीत प्रस्तुत गरिँदा माहोल नै नेपालमय बन्यो।

नेपाली मौलिक पोशाकमा ठाँटिएका बंगाली कलाकारले नेपालीझैं हाउभाउसमेत लोकलयमै अभिव्यक्त गरे। गीतको रसमा डुब्दै दर्शकले हात र कम्मर हल्लाउँदै कलाकारलाई साथ दिएका थिए।

केही बेरमा फेरि अर्को चर्चित नेपाली गीतको धुन बज्यो।

रेशम फिरिरि, रेशम फिरिरि
उडेर जाउँ कि डाँडामा भञ्ज्याङ
रेशम फिरिरि...

Laxmi sunrise bank
kumari

यस गीतमा बंगाली कलाकारसँगै हलमा उपस्थित सबै एकैसाथ गाउन थालेपछि सिंगो हल नै गुञ्जियो। लाग्थ्यो– कुनै ठूलै सांगीतिक अभ्यास चल्दैथियो।

ढोलक, मादल, सारंगी र टुङ्नाको धुनले जति गीतमा रस भरेको थियो, त्यति नै विदेशी कलाकारको उत्साहित आवाजले थप सुमधुर बनाएको थियो।

गीतमा रम्दै नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्ते शाम्सले फुरुंग हुँदै तालीले गीतको प्रशंसा गरे। रौसिएका कलाकार झन् मग्न भएर झुम्न थाले।

कालजयी यो गीत विदेशी र स्वदेशीको कण्ठमा बसेको छ। कतिपय विदेशीले यस गीतको लय र संगीतको रसलाई आफ्नै सुरमा रेकर्ड गर्न भ्याएका छन्।

नेपाली कलाकारले पनि बंगाली गीत गाएर पाहुनालाई मख्ख पारे। फरक भाषा, संगीत र सुरको धुनमा ‘सोनो सोनो, बकुल फूल बकूल फुल, बउल सङ, लोक बोले बोले रे, मधु होइ होइ...’ गीत प्रस्तुत गरिँदा बंगलादेशी कलाकारलाई नेपालीले लय मिलाउन साथ दिए।

हलमा दुई देशका कलाकार थिए भन्ने कसैले भेउ पाउन सकेनन्।

बंगलादेशका कलाकारले वीर रसले ओतप्रोत क्रान्ति र स्वाधीनताका गीत गाएर दर्शकमा थप ऊर्जा भरे।

नेपाल र बंगलादेश युवा सम्मेलनका लागि काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सहभागी दुई देशका सयभन्दा बढी कलाकारले दर्शकदीर्घाबाट नृत्यमा साथ पाए।

सांस्कृतिक कार्यक्रममा बंगलादेशका मसुद आलम (दोतारा), अनुपम विश्वास (दोतारा), एसके आवु जाफोर (बाँसुरी), कालिम शाह (ढोलक), शेख दिना (एकतारे), अब्दुल अल ममुन, अवन्ती, मेहरिन मसुद, माहिर मसुदलगायत कलाकार सहभागी थिए।

उनीहरूलाई गायिका कृतिका राईसहित विशाल नकर्मी (सारंगी), अस्मिता भट्टराई (सारंगी), सुमन कश्यप (मादल), सुमन नगरकोटी (मादल), उपेन्द्र शाही (टुङ्ना)ले साथ दिएका थिए।

सम्मेलन आयोजक समिति संयोजक अभिनभ चौधरीे यस्ता कार्यक्रमले संस्कृति साटासाट, एकअर्कामा भाइचाराको विस्तार र दुई मुलुकबीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने बताउँछन्।

युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा नेपालस्थित बंगलादेश राजदूतावासको समन्वयमा शनिबार दुईदिने ‘तेस्रो नेपाल बंगलादेश युवा सम्मेलन’ सुरु भएको हो।

रासस

 

प्रकाशित: Feb 23, 2020| 12:44 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्