काठमाडौं- नेपालस्थित अमेरिकी दूतावासले एमसीसीका विषयमा राखिने शान्तिपूर्ण अभिव्यक्तिको समर्थन गर्ने जनाएको छ ।
पछिल्लो समय एमसीसीलगायत अन्य बाह्य मामिलाका सन्दर्भमा भइरहका आन्दोलनमाथि दमन गरिरहेको अवस्थामा दूतावासले शान्तिपूर्ण रुपमा व्यक्त गरिने अभिव्यक्तिहरुको समर्थन गर्ने जनाएको हो।
एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल आउने भएसँगै विभिन्न समूहहरुले आन्दोलन तयारी गरिरहेको पूर्वसन्ध्यामा अमेरिकी दूतावासले यस्तो भनाइ सार्वजनिक गरेको हो।
दूतावासले ट्विटमार्फत भनेको छ, "हामी वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको एक बलियो समर्थक हौं, चाहे त्यो एमसीसी नै होस्।"
दूतावासले शान्तिपूर्ण अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अभिन्न अंग भएको उल्लेख गर्दै अमेरिका दशकौंदेखि नेपाल र नेपालीको साझेदार मुलुक भएकोले यहाँको दीर्घकालीन समृद्धिलाई समर्थन गर्नेसमेत जनाएको छ।
यसअघि एमसीसीलगायतका विषयमा चर्को विरोध भएपछि गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हामा लिनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो।