काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताएका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले १५ महिनापछि यो सरकारलाई खोजेर पनि भेट्न नसकिने दाबी समेत गरेका छन्। राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै उनले यो सरकारलाई नेपाली जनताले छिटोभन्दा छिटो बिदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरुलाई निर्वाचनको तयारीमा जुटन आह्वान गरे।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भने, ‘अहिलेको सरकार शास्वत होइन । यो सरकार अलिक दिनको मेजमान, पाहुना। बलजफ्ती आएको पाहुना। थोपरिएको पाहुना। षडयन्त्रबाट जन्मेको पाहुना। अवैध सम्बन्धहरुको उपज पाहुना। यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ। तर छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनु पर्ने केही छैन। अर्को मंसीरसम्ममा चुनाव गर्नुपर्छ। कति रह्यो विचार गर्नुस त । भदौ गई गो, असोज, कात्तिक, मंसीर। अब १४ महिना रह्यो । अब १५ महिनामा त यो सरकारलाई खाजेर पनि भेटिँदैन। तपाईंहरु सुत्नु भो भने त यस्ता सरकारहरु त बनिरहन्छन् । तपाईंहरु सुत्नु हुँदैन । तपाईंहरु उठनु भने त यस्ता सरकारहरु बिदा हुन्छन् । जनताको सरकार बन्छ । देशभक्त सरकार बन्छ।’
अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौति दिने गरी उर्दी जारी नगर्न पनि सचेत गराएका छन् ।
जनताको बोल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको भन्दै उनले यस्तो सरकारलाई मात्रै तानाशाहीको संज्ञा दिन सकिने तर्कसमेत गरेका छन्।
अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक वेपत्ता हुँदा समेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘वर्तमान सरकार घरको बाघ, बनेका स्याल हो । अब त सोझै संविधानलाई चुनौति दिएर उर्दी जारी गर्ने गर्या छ । बोल्न पाइँदैन। अहिले नबोल्न निर्देशन दिइन्छ । अब बोले कारबाही गरिन्छ भनेर थर्काइन्छ। म भन्न चाहन्छु- शासन दमनकारी हुन पाउँदैन। शान्तिपूर्ण, विचार स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रतता, शान्तिपूर्ण विरोध गर्ने स्वतन्त्रता, विरोध प्रर्दशनको स्वतन्त्रता त्यो खोस्न सक्दैन। त्यो बाटो लिन थाल्यो भने त्यसलाई भन्छ- तानाशाह । र तानाशाही टिक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ। तानाशाही टिक्नेवाला होइन।'
अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन्। उनले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरु लहर बढेर जाने दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले भने, ‘एमालेलाई एक्ल्याएर ठेगान लाउँछौ भनेर धेरै ठाउँमा भन्ने गर्या छन् । एमाले कत्तिको एक्लिदैछ, आज देख्नु भयो नि, युवाहरु जोश। आज कति ठाउँ युवाहरु एमालेमा प्रवेश गरिरहेका छन्। यो त एउटा ठाउँ, अन्य ठाउँमा दैनिक प्रवेश गरिरहेका छन्। यो प्रवेशको लहर चल्दै जानेछ।’