काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको बताएका छन्।
सोमबार कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले महाकालीमा बेपत्ता भएका जयसिंह धामीदेखि सडकमा बोल्न नपाउने आदेशजस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको बताए।
सरकारलाई झकझक्याउने बेला आएको टिप्पणी गर्दै थापाले प्रतिनिधिसभाको बाँकी अवधिभर सरकारले जनताको ढोका खोल्ने गरी काम गर्नुपर्ने धारणा राखे।
आगामी चुनावमा कसैको काँधमा नचढी बहुमत प्राप्त गर्ने गरी कांग्रेसले तयारी गर्नुपर्ने उनको भनाइ थियो। थापाले पार्टीको विधि विधानविपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधि विधान अनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए ।