काठमाडौँ- नेपाली कांग्रेस वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३८ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये शुक्रबार ३५ जिल्ला, शनिबार झापा र मुस्ताङ तथा आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिए।
त्यस्तै भदौ २१ गते सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुँदैछ। भदौ २२ गते गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते रुकुमपूर्व र रुकुमपश्चिममा अधिवेशन हुन लागेको उहाँले बताए।
यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा वडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको पार्टी कार्यालयले जनाएको छ।
निर्वाचन समितिले भने अधिवेशन सम्पन्न गर्न कम्तीमा पाँच दिनअघि क्रियाशील सदस्यता सूची प्राप्त हुनुपर्ने माग गरेको छ। त्यसमध्ये पनि डोल्पा र रसुवामा भने भौगोलिक विकटताका कारण निर्वाचन सामग्री पठाउन थप समय लाग्ने संयोजक यादवले जानकारी दिए।
क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ। क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र सम्बन्धित जिल्लामा निर्वाचन अधिकृत खटाउन सकिने गरी तयारी भएको उनले बताए।
हालसम्म प्रदेश १ मा मोरङ, प्रदेश २ का सप्तरी, सिरहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक भएको छैन।
बाग्मती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त नभएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
करिब ९ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्। वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ।
यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्।
मुलुकभरका सबै ६ हजार ७४३ वडामा कांग्रेस अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्य निर्वाचित हुने समितिले जनाएको छ। यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ। त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।
कांग्रेसले यसअघि नै गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिसकेको छ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।