काठमाडौं- सरकारले हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्याको अध्ययन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालयका सहसचिव आचार्यको संयोजकत्वमा समिति गठन गरिएको नेपाल समयलाई जानकारी दिएका छन्।
'यसअघि मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार नै सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा रहने अन्य सदस्यहरुको नाम भोलि टुंगो लगाइने भएको छ,' उनले भने, 'नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ स्थित नेपाल-चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य रहनेछ।'
उनका अनुसार समितिमा रहने सदस्यको नाम पठाउन नेपाल प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको छ।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चीनले अतिक्रमण गरिएको भनिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्याको अध्ययन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।
नेपालस्थित चिनियाँ दूतावासले भने शुक्रबार नेपालसँग सीमा विवाद नरहेको दाबी गरेको थियो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि चीनसँग कुनै सीमा विवाद नभएको बताएको थियो। थिए।
अघिल्लो सरकारले उत्तरी सीमामा पुगेर एक प्रतिवेदनसमेत तयार गरेको थियो। उक्त प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेको छैन। लामो समयदेखि हराएको भनिएको हुम्लामा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको थियो। नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो।
यससँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको अनुगमन टोलीले पनि चीनले हुम्लामा सीमा अतिक्रमण गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन सार्वजनिक गरेको थियो।