काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रश्न गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल माओवादीका अध्यक्ष प्रचण्डलाई ‘एमससी के गर्ने’ भनेर प्रश्न गरेका हुन्। ओलीले सोधे– हिजो आफैंले सम्झौतामा सही गरेको एमसीसी के गर्ने, बोल्नु पर्दैन?’
एमसीसीमा हस्ताक्षर गर्दा प्रचण्ड प्रधानमन्त्री थिए भने हस्ताक्षरकर्ता थिए कांग्रेसका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। अहिले पनि कार्की मन्त्री छन् र प्रचण्ड सत्ता साझेदार दलको अध्यक्ष।
कांग्रेस र माओवादी सरकारमा भएका बेला एमसीसी सम्झौता भएको स्मरण गराउँदै ओलीले अहिले एमसीसीबारे कसैले मुख नखोलेकोमा आश्चर्य व्यक्त गरे। भने, ‘यिनै कांग्रेस र माओवादी हैनन् हिजो एमसीसी सम्झौता गर्ने? अहिले किन बोल्दैनन्? झुक्याएर पास गर्न खोजेको हो? के गर्ने हो बोल्दैनन्, भन्दैनन्। यिनीहरूले सम्झौता गरेको एमसीसी के गर्ने भनेर यिनीहरूले जनताका अगाडि भन्नु पर्दैन? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने? अनि प्रचण्डजीले एमसीसी के गर्ने भन्नु पर्दैन? हिजो हस्ताक्षर गर्नुभएको थियो त। किन उहाँहरू चुपचाप हुनुहुन्छ अहिले?’
कार्यक्रममा ओलीले चीनसँगको सम्बन्धको पनि कुरा उठाउँदै चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरे। हुँदै नभएको सीमा विवाद अध्ययन गर्न भनेर सरकारले समिति बनाएको भन्दै उनले आपत्ति जनाए।
भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुसी पार्नको लागि समिति बनाइएको हो? म चुनौती दिन चाहन्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस्।’ सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाए।