शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रवक्ताका रुपमा ज्ञवालीले विज्ञप्ति निकालेपछि एमालेमा तरंग, योगेशको जिम्मेवारी के?

प्रवक्ताका रुपमा ज्ञवालीले विज्ञप्ति निकालेपछि एमालेमा तरंग, योगेशको जिम्मेवारी के?

प्रवक्ताको रुपमा प्रदीप ज्ञवालीले विज्ञप्ति प्रकाशित गरेपछि नेकपा (एमाले) मा तरंग उत्पन्न भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– प्रवक्ताको रुपमा प्रदीप ज्ञवालीले विज्ञप्ति प्रकाशित गरेपछि नेकपा (एमाले) मा तरंग उत्पन्न भएको छ। पार्टी विवाद समाधानका लागि अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयनमा सहमति जनाएका थिए। त्यसअनुसार पार्टी २ जेठ २०७५ मा फर्किनुपर्ने थियो। अर्थात् पार्टी प्रवक्ता योगेश भट्टराई हुनुपर्ने थियो।

तर, हिजो बिहीबार ज्ञवालीले नै निकाले विज्ञप्ति। दार्चुला घटनाबारे एमालेले निकालेको विज्ञप्तिमा प्रवक्ताका रुपमा ज्ञवालीले नै हस्ताक्षर गरेका छन्। भदौ ९ यता पनि ज्ञवालीले नै प्रवक्ताको हैसियतमा पार्टीका तर्फबाट विभिन्न विज्ञप्तिहरु प्रकाशित गर्दै आएका छन्।

यसबारे जिज्ञासा राख्दा ज्ञवालीले जेठ २ भन्दा अगाडि भट्टराई प्रवक्ताभन्दा पनि प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेको बताए। १० बुँदाको कार्यान्वयन हुने क्रम जारी रहेको भन्दै उनले अब योगेशले नप्रवक्ताको जिम्मेवारी लिने सुनाए।

भट्टराईले पनि १० बुँदे सहमति कार्यान्वयनकै लागि आफूहरु जुटिरहेको बताए। सबै पार्टी कमिटीहरु जेठ दुईकै अवस्थामा परिचालित हुने र आफूले प्रवक्ताको जिम्मेवारी लिने उनको भनाइ थियो।एमालेलाई फुटबाट जोगाउनका लागि असार २७ गते १० सदस्यीय एमाले कार्यदलले १० बुँदे सहमतिको प्रस्तावना तयार पारेको थियो। सोही आधारमा दोस्रो पुस्ताका धेरै नेताहरु एमालेमै बसेका छन्। 

माधवकुमार नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नुपूर्व नेपालकै साथमा रहेका एमालेका तीन उपाध्यक्षसहितका एउटा धार ‘एमाले एकताको विकल्प नभएको’ भन्दै एमालेमै फर्किएको छ।

सहमतिको प्रस्तावनाको बुँदा नं. २ मा भनिएको छ— ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन्।’ 

उक्त १० बुँदालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले अनुमोदनसमेत गरिसकेको छ। १० बुँदेको कार्यान्वयन हुने क्रममा योगेशले प्रवक्ताको जिम्मेवारी लिएको बताइएको थियो। 

साविकको एमालेमा प्रवक्ताको जिम्मेवारीमा रहेका भट्टराई एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन भएपछि त्यो जिम्मेवारीबाट अलग्गिएका थिए। सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा अध्यक्ष ओलीविरोधी कित्तामा रहेका भट्टराई त्यसपछि भदौ ८ गते पहिलोपटक एमाले बैठकमा सहभागी भएका थिए।

ओली पक्षीय नेताहरुले पार्टी जेठ २ मा फर्किसकेको दाबी गरिरहे पनि एमाले प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीले नै सम्हालिरहेपछि भट्टराईको जिम्मेवारी के भन्ने प्रश्न उब्जिएको छ। भट्टराईलगायतका नेताहरुले नयाँ दललाई साथ नदिने भएपछि बसेको एमाले बैठकमा पार्टी प्रवक्तामा भट्टराई नै फर्किएको समाचार पनि सार्वजनिक भएको थियो।

प्रकाशित: Sep 03, 2021| 07:50 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...