बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मर्दानी २ : शीर्षकमा मात्रै मर्दको सहारा

बलिउड फिल्ममा कुनै नायिका अर्को नायक वा सहायक पुरुषको सहयोग बिना नै यति हिंस्रक खलनायकको सामना गरेको देखाइएको थिएन।
 |  शनिबार, मंसिर २८, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

करण जौहरले आफ्नो आत्मकथा ‘एन अनसुइटेबल बोय’ मा उनको पहिलो फिल्म ‘कुछ कुछ होता है’ बनाउँदाको अवस्था विस्तारमा लेखेका छन्।

himalayan bank box

फिल्म बनाउँदा उनलाई सबैभन्दा ठूलो चुनौती होचो कद र बढी वजनकी रानी मुखर्जीलाई ‘हट’ देखाउनु थियो।

तर रानीले यति राम्रो अभिनय गरिदिइन् कि ‘कुछ कुछ होता है’ की पात्र टिना सबैको मनमा बस्न पुगिन्।

अहिले पनि रानी मुखर्जीको अभिनय उस्तै छ। सन् २०१४ मा रिलिज भएको ‘मर्दानी’ मा डीएसपी शिवानी शिवाजी रावको भूमिका निर्वाह गरेर सबैलाई चकित पारेकी रानीले अहिले ‘मर्दानी २’ मा पनि प्रहरी अधिकारीको भूमिकामा छन्।

उनको यो भूमिकाले लाग्छ, उनी बिना यो फिल्म सायद सम्भव हुँदैनथ्यो।

Metro Mart
vianet

फिल्ममा रानी मुखर्जीका कैयौं दृश्य निकै प्रभावशाली लाग्छन्। एउटा असल प्रहरी बन्नका लागि गह्रुँगो आवाज र अग्लो कदमात्रै आवश्यक होइन भन्ने रानीको अभिनयले पुष्टि गर्छ।

फिल्ममा तेज–तर्रार र सौम्यको मिश्रण बनेकी रानी मुखर्जीका कारण दर्शकको ध्यान लगातार फिल्मले तानिराख्छ। बाँकी सुन्दर त उनी छन् नै।

फिल्मको कथा स्त्रीद्वेषको भावना अर्थात् महिलाप्रतिको दुर्भावना र त्यसका कारण हुने शारीरिक र मानसिक हिंसामा आधारित छ।

‘मर्दानी २’ को पहिलो भागमा बलात्कार पीडितहरु र शिवानी शिवाजी रावका माध्यमबाट समाजमा महत्त्वाकांक्षी र सीधा कुरा गर्ने, नडग्ने महिलाहरुलाई कसरी कठघरामा उभ्याइन्छ भन्ने देखाइएको छ।

यो व्यथाको वर्णन गर्ने रानी मुखर्जीको ‘मोनोलग’ पनि फिल्ममा राखिएको छ। तर, अझै कुशलतापूर्वक लेखिएको भए यो मोनोलग बढी प्रभावशाली हुन सक्थ्यो।

फिल्मको अर्को भाग यी महिलाले समान हैसियत प्राप्तिका लागि गरेको संघर्ष देखाइएको छ। यो सुन्दर विचार नै पटकथाका सानातिना कमजोरीलाई बेवास्ता गरिने कारण बन्छ।

‘मर्दानी २’ को अर्को विशेषता यसको बलियो र दुर्दान्त खलनायक हो। निर्दोष अनुहार र खैरो आँखा भएको २१–२२ वर्षको एक युवा सनी फिल्मको खलनायक हो।

सुरुमै स्क्रिनमा भारतमा अपराधको आधिकारिक तथ्यांक राखेर फिल्ममा यती सानो उमेरको खलनायक राखिनुलाई पुष्टि गरिएको छ। भारतमा हुने गरेका बलात्कारका कुल घटनामध्ये आधामा आरोपितको उमेर १८ वर्षभन्दा कम छ।

फिल्ममा वास्तविक तथ्यांकहरुलाई मात्र आधार बनाइएको छैन, घटनाहरुको सिक्वेन्सिङ र हुने तरिका पनि वास्तविकताकै वरिपरि छ।

खलनायक बनेका विशाल जेठवाको अभिनय ‘ब्रेकिङ द फोर्थ वाल’ टेक्निकको प्रयोगबाट दर्शकसँग सीधा संवाद गर्न पुग्छ।

जेठवाले केही दृश्यमा जब आफ्नो अनुहारको भाव निकै सादा र सपाट राख्छन् तब दर्शकमा अचम्मको प्रभाव पर्छ।

यसको ठिक अघि यही खलनायकले डर र विभत्स दृश्यमा गजबको अभिनय देखाइसकेका हुन्छन् र तुरुन्तै बदलिएको उनको अनुहारको भावले बेग्लै छाप पार्छ।

यसै कारण यो चरित्रप्रति हदैसम्मको घृणा गर्नबाट दर्शकले आफूलाई रोक्न सक्दैनन्।

बितेका चारपाँच वर्षयता टेलिभिजनमा परिचित अनुहार जेठवा यो फिल्मबाट बलिउडमा बलियो पाइला राख्दै गरेका देखिन्छन्।

उत्कृष्ट पटकथा र अभिनयबाहेक ‘मर्दानी २’ को प्रशंसा यसकारण पनि गरिनुपर्छ– यो परम्पराभन्दा फरक नायिका प्रधान फिल्म हो। बलिउड फिल्ममा कुनै नायिका अर्को नायक वा सहायक पुरुषको सहयोग बिना नै यति हिंस्रक खलनायकको सामना गरेको देखाइएको थिएन।

आवश्यकताभन्दा बढी जानकारी दिन खोज्दा फिल्मको संवाद कतै कतै चिप्लेको छ। तर कम अवधिको र तीव्र गतिको यो फिल्मको ब्याकग्राउन्ड स्कोर पनि सहज र सटिक छ। फिल्ममा कुनै गीत छैन।

गोपी पुथरण निर्देशित ‘मर्दानी २’ धेरै सस्पेन्स र रोमाञ्च भरिएको फिल्म बनेको छ। साथै यो फिल्मले जोडदार नारा लगाएको छ ‘स्त्रीद्वेष मुर्दावाद!’

*****
लेखक–निर्देशक: गोपी पुथरण
कलाकार : रानी मुखर्जी, विशाल जेठवा, श्रुति बापना, दीपिका अमिन

प्रकाशित: Dec 14, 2019| 08:12 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्