काठमाडौं– इन्डियन राष्ट्रिय फुटबल टिमका फरवार्ड सन्दीप क्षेत्री इन्डियाका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। अन्तर्राष्ट्रिय खेलमा त उनले अर्जेन्टिनी फरवार्ड मेस्सीलाई समेत उछिनेका थिए। पछि मेस्सीले जिते।
इन्डियाको लगभग हरेक खेलमा गोल गर्ने खेलाडी हुन्, सुनिल। उनी अहिले खेलिरहेका विश्वका चार सर्वाधिक गोलकर्तामा पर्छन्। उनीभन्दा धेरै गोल गर्नेमा क्रिस्टियानो रोनाल्डो, अली मबखुट र लियोनेल मेस्सीमात्र छन्।
उनले नेपालविरुद्ध ५ गोल गरेका छन्। अहिले सुनिल मेस्सीभन्दा दुई गोल पछि छन्। अहिलेसम्मको फुटबल इतिहास हेर्ने हो भने उनी सर्वाधिक गोलकर्ताको १३ औं नम्बरमा पर्छन्। उनी इन्डियन टिमबाट सबैभन्दा धेरै क्याप जित्ने खेलाडी पनि हुन्।
इन्डियामा कुनै फुटबलरको अत्यधिक चर्चा छ भने त्यो सुनिलको नै हो। उनले पछिल्लो समय काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत नेपालविरुद्ध खेलेका थिए। त्यो खेलमा भने उनले गोल गर्न सकेनन्। र, भोलि दशरथ रंगशालामै हुने खेलका लागि उनी फेरि अर्कोपटक नेपालविरुद्ध खेल्दैछन्।
त्यसो त सुनिलको साइनो पनि छ नेपालसँग। इन्डियन टिममा नेपाली बोल्ने र बुझ्ने एकमात्र खेलाडी पनि हुन् उनी। भोलि बिहीबार दशरथ रंगशालामा खेल्दैछन् उनी ६ वर्षपछि।
खेलअघिको पत्रकार सम्मेलनमा बुधबार उनले आफ्नो नेपाल सम्बन्धबारे चर्चा गरे। उनका मामा गणेश पाण्डे फुटबल खेलाडी थिए। उनकी आमाले पनि उमेरमा फुटबल खेलेकी थिइन्। इलामको बौद्धधाम उनको आमाको घर थियो। ‘मेरो ममी नेपालबाट हुनुहुन्छ। बुबापटिको पनि सबै जना नेपालबाटै हुनुन्छ,’ सुनिलले सुनाए, ‘मेरो परिवार पनि नेपालमै बस्नुहुन्छ। बाँकी आफन्त, मामाहरु पनि काठमाडौंमा नै हुनुहुन्छ।’
सुनिलका बुबा इन्डियन आर्मी भएका कारण उनी उतै हुर्किए। ‘हाम्रो पुरानो जेनेरेसनको आफन्तहरु नेपालबाट थिए। अहिले पनि धेरै आफन्तहरु झापा, काठमाडौं र पोखरामा हुनुहुन्छ,’ सुनिलले भने।
फुटबल करिअरमा व्यस्त रहेका कारण उनको नेपाली आफन्तसँग धेरै भेट हुँदैन। तर फोनमा कुराकानी गर्ने गरेको बताउँछन् सुनिल। ‘जब खेल सकिन्छ, म मेरा नेपाली आफन्त भेट्न जान उत्साहित हुन्छु। नेपालविरुद्धको खेल बिहीबार र आइतबार छ। त्यसपछि म आफन्तलाई भेट्न छुट पाएँ भने जानेछु,’ उनले भने।
कोभिडका कारण उनले लामो समयदेखि आफन्त भेट्न पाएका छैनन्। साफ च्याम्पियनसिप नजिक आइरहेको समयमा उनलाई नेपाली आफन्त भेट्ने समय मिलाउन पनि कठिन छ। भन्छन्, ‘हो, कोभिडले बाहिर जान दिँदैन तर खेल सकिएपछि म जान चाहनेछु।’
सुनिलले सुनाएअनुसार उनकी आमा पनि फुटबल खेलाडी थिइन् अनि मामा पनि। त्यसो भए उनी आमा वा मामाबाट प्रभावित भएर फुटबलर बनेका हुन् त? भन्छन्, ‘धेरै मात्रामा प्रभाव परेको हो। उहाँहरुको मार्गदर्शन नभएको भए म सायद यहाँ हुने थिइनँ होला।’
बुबा आर्मी भएकाले हिँडिरन्थे, त्यसैले सुनिलले आमासँगै धेरै समय बिताए। उनले फुटबलमा अनुशासन घरमै सिके। सुनिलले सन् २००२ मा मोहन बगान क्लबबाट आफ्नो सिनियर फुटबल करिअर सुरु गरेका थिए, जहाँबाट उनले ४८ खेलमा २१ गोल गरे। इन्डियाका अन्य दुई टिममा समय बिताएपछि उनी सन् २०१० मा अमेरिकाको मेजर लिग सकर खेल्न पुगे। त्यहाँ कही समय बिताएर इन्डियाको आई लिगमा फर्किएका थिए।
त्यसपछि उनले पोर्चुगलको रिजर्भ क्लबबाट पनि खेलेका थिए। यता राष्ट्रिय टिमतर्फ उनले इन्डियालाई २००७, २००९ र २०१२ को नेहरु कप र २०११ को साफ च्याम्पियनसिप जिताएका छन्। त्यस्तै, उनले एएफसी च्यालेन्ज कपको उपाधि पनि जितिसकेका छन्, जसले इन्डियालाई २७ वर्षपछि एएफसी एसिया कपसम्म पुर्याएको थियो।
सुनिल सर्वाधिक ६ पटकसम्म इन्डियन फुटबल फेडेरेसनका वर्ष खेलाडी बनेका छन्।