शनिबार, फागुन १६, २०८२

६३ वृत्तचित्रको महामेला 'फिल्म साउथ एशिया' जारी

दक्षिण एसियाली वृत्तचित्रको मेला ‘फिल्म साउथ एशिया’ शुक्रबार दोस्रो दिन पनि जारी छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

 

काठमाडौं- दक्षिण एसियाली वृत्तचित्रको मेला ‘फिल्म साउथ एशिया’ शुक्रबार दोस्रो दिन पनि जारी छ।

ललितपुरको यलामाया केन्द्रमा भइरहेको चार दिने महोत्सवमा विभिन्न विधाका ६३ वृत्तचित्र (डक्युमेन्ट्री फिल्म) प्रदर्शन हुँदैछन्।

वृत्तचित्र मार्फत दक्षिण एसियाका निर्देशक, दर्शक र आमसरोकारलाई जोड्ने साझा थलोको रुपमा 'फिल्म साउथ एसिया' महोत्सवलाई लिइन्छ। १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै महोत्सवको १२ औं संस्करणको नारा ‘ह्वेयर द माइन्ड इज फ्रि’ नारा राखिएको छ।

६३ ओटा वृत्तचित्र प्रदर्शन हुने 'फिल्म साउथ एसिया २०१९’ मा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान, म्यानमारलगायतका देशबाट २५ सयभन्दा बढी वृत्तचित्र प्राप्त भएकोमा तीन चरणमा छनोट गरी उत्कृष्ट ६३ वृत्तचित्र प्रदर्शन हुनेछन्।

kumari

महोत्सवका सहायक निर्देशक आलोक अधिकारीका अनुसार मध्ये ‘मेन सेलेक्सन’ मा ५१ र ‘स्टुडेन्ट फिल्म’अन्तर्गत १२ फिल्म देखाइनेछ।

प्रतिस्पर्धामा उत्कृष्ट हुने वृत्तचित्रले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलर, द्वितीय वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यु’ निर्देशकतर्फ उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछन्।

बालबालिकाको विषयमा केन्द्रित वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’ स्वरूप एक हजार अमेरिकी डलर पाउनेछ।
‘स्टुडेन्ट फिल्म’तर्फ उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ।

महोत्सवमा यस पटक जम्मा तीन नेपाली वृत्तचित्रले मात्रै स्थान पाउन सफल भएका छन्। बेन्जामिन बेस्ट र शंकर दाहालको निर्देशनमा बनेको 'ट्रयाप्ड इन कतार,' डा‍‍क्टर गोविन्द केसीबारे गोपाल सिवाकोटी र गोविन्द सिवाकोटीको निर्देशनमा बनेको वृत्तचित्र 'वी आर विथ डाक्टर केसी' र आशिष लिम्बू र देबिन राईको 'द विन्टर ट्यापु' महोत्सवमा समावेश भएका नेपाली वृत्तचित्र हुन्।

महोत्सवको निर्णायक टोलीमा पत्रकार कुन्द दीक्षित, श्रीलंकन निर्देशक सुमाथी शिवामोहन र भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम छन्।

विभिन्न देशका फिल्म क्रिटिक्स, पत्रकार, रिसर्चर, सिनेमेटोग्राफरलगायतको उपस्थिति रहेको महोत्सव आइतबारसम्म चल्नेछ।

प्रकाशित: Nov 15, 2019| 09:09 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्