काठमाडौं– नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएको गुनासो गरेका छन्।
पेशागत महासंघ नेपाल, बागमती प्रदेशले शनिबार आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दोस्रो तहका नेताले डराएर मैदान छाडेको गुनासो गरेका हुन्।
‘केपी ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस्, जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नैपर्छ भनेको थिएँ। उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गरेका हौं। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो,’ नेपालले भने।
ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरु नै पछि खुट्टा कमाएर हिँडेको पनि नेपालले बताए। भने, ‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए। ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन्।’
एमाले विभाजनलाई एउटा सामान्य घटनाको रुपमा लिन अध्यक्ष नेपालले आग्रह गरे। भने, ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन्। केही केही व्यक्तिहरु पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन् (केपी ओलीतिर लक्षित गर्दै)। पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाइसन्चो भइरहेको छ भनिरहेको छ। अझै पनि खिल अझै बाँकी छ भनिरहेको छ। घाँडो पन्छियो भनिरहेका छन्।’
गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको नेपालले प्रस्टीकरण दिए। भने, ‘केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौँ। सहमतिलाई नक्कली सहमतिको जामा पहिर्याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन। प्रतिगमनको बाटोमा नजान पटक पटक आग्रह गर्यौँ। तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौँ।’
ओलीतिरै लक्षित गर्दै उनले थपे, ‘एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई दुई पटक प्रतिनिधिसभा नै भाँचिदिए।’
अध्यक्ष नेपालले माथिकाले छाडे पनि आफ्नो साथमा कार्यकर्ता रहेको बताए। ‘माथिकाले छाडेर के भयो र, तल तलका कार्यकर्ता मेरा सहारा हुन्। त्यसैले मलाई जोश बढेको छ। दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु। दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाइदिएर म बिदा हुन्छु।’