शुक्रबार, भदौ ५, २०८३

'युवाहरूलाई योगदानका आधारमा अवसर दिनुपर्छ'

नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरूलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरूलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागी नेताहरूले कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण गर्ने परिपाटीको विकास नहुँदा वैचारिक रूपमा सक्षम, सुदृढ र क्रियाशील युवाहरूले योगदानका आधारमा अवसर नपाएको गुनासो गरे।

नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टीको नेतृत्व पंक्तीको कार्यशैली ठिक नहुँदा युवाहरूलाई विचार प्रदान गर्न असक्षम रहेको बताए। उनले भने,‘सम्पूर्ण भातृ संगठन मृत सरह राख्ने, नीति बनाउन नसक्ने, युवा परिचालन गरेर संगठन सुदृढ गर्न नसक्दा युवामा उर्जा हराउने खतरा बढेको छ’, उनले अगाडि भने,‘नेतृत्वले सुझाव पनि ग्रहण नगर्ने र आलोचना पनि सहन नसकेका कारण पार्टीमा जागरण हराउँदै गएको छ। यस्तो बेला युवा संगठित भएर बोल्नुपर्छ।’

कांग्रेस महासमिति सदस्य तथा नेता मथुराप्रसाद घिमिरेले नेतृत्व तहका नेतामा हुकुमी शासन कायम रहँदा पुस्ता हस्तान्तरण नभएको बताए। उनले भने,‘प्रतिस्पर्धा गर्न डराउने र विधि विधान अनुसार नचलेका कारण समस्या भइरहेको छ।’ लोकतन्त्रमा पारदर्शीता आवश्यक रहेको भन्दै उनले पारदर्शिता र प्रतिस्पर्धा हुँदा मात्र पूर्ण लोकतन्त्रको अभ्यास हुने धारणा राखे। कांग्रेस नेता भरतलाल ङयाछेले अवसर पाइसकेका नेताहरूले पद छाड्न नसक्नु र पुस्ता हस्तान्तरण गर्न नसक्नु पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताए।

भेलामार्फत ‘विचार डबली’ अभियान थालेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईले निर्माणका लागि बैचारिक विद्रोह आवश्यक रहेको औंल्याउँदै पार्टीको नेतृत्वले युवालाई उचित प्रयोग गर्नुपर्ने बताए। पार्टीको महाधिवेशन तत्कालिन आवश्यक्ता रहेको भन्दै उनले अग्रजहरूले अवसर नदिए पनि युवाहरू प्रतिस्पर्धामा उत्रिनुपर्ने बताए।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य सानुबाबु महर्जनले पार्टीमा रहेर काम गरेका युवाहरूलाई योगदानका आधारमा मूल्यांकन हुनुपर्ने भन्दै सिनियर र जुनियरका आधारमा विभेद गर्नु नहुने बताए। उनले भने,‘कोही पनि कार्यकर्तालाई टिम र व्यक्तिको ट्याग लगाएर विभेद गर्ने परिपार्टी तुरुन्त अन्त्य गर्नुपर्छ।’

लोकतान्त्रिक इन्जिनियरिङ एसोसिएसनका महासचिब रोशनराज गिरीले पार्टी भित्र पुस्तान्तरण आवश्यक रहेको औंल्याउँदै परिर्वतन चाहनेहरूले प्रवृत्ति पनि परिवर्तन गर्नुपर्ने बताए। लोकतान्त्रिक इन्जिनियरिङ एसोसिएसनकै पूर्वमहासचिब विनोदप्रकाश पण्डितले पार्टीभित्र सबै पद प्राप्तीका लागि मात्र दौडिने तर वैचारिक क्षमता सुदृढ गर्न अघि नबढ्ने परिपाटीका कारण पार्टीलाई घाटा भइरहेको बताए।

नेविसंघ धादिङका पूर्व सभापति सेतेमान तामाङले संगठन कब्जा गर्ने परिपार्टीले कार्यकर्ताहरूको सरक्षण नभएको र पार्टी गतिहिन र योजनविहीन बन्दै गएको दुखेसो गरे। भेलामा राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा, कांग्रेस भक्तपुर प्रदेश ‘क’का सभापति उद्धव खड्का, विद्यार्थी नेता सुदर्शन शर्मा, ध्रुवलाल गैरे, गोपाल पौड्याललगायतले युवाहरूको सहभागिता बिना कांग्रेस सुदृढ हुन नसक्ने धारणा राखेका थिए।

प्रकाशित: Aug 28, 2021| 11:54 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...