काठमाडौं- १४औँ महाधिवेशनका लागि नेपाली कांग्रेसले ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ। क्रियाशील सदस्यताको सूची प्राप्त गरेसँगै निर्वाचन समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानुन व्यवसायीमध्येबाट शुक्रबार ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको समिति संयोजक महादेवप्रसाद यादवले बताए।
महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए। जिल्ला निर्वाचन अधिकृतले यही भदौ १८ गतेदेखि सुरु हुने गाउँ/नगर, वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म निर्वाचन प्रक्रियाका काम गर्नेछन्।
निर्वाचन अधिकृतले सम्बन्धित जिल्ला सभापति, पार्टीका वर्गीय सङ्गठन र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरसम्म निर्वाचन अधिकृत तोक्ने यादवले बताए। प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत भने पछि खटाइने कांग्रेसले जनाएको छ।
क्रियाशील सदस्यताको बाँकी सूची समितिलाई शनिबार र आइतबारसम्म प्राप्त हुने बताइएको छ। त्यसपछि बाँकी जिल्लामा पनि निर्वाचन अधिकृत खटाइनेछन्। क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयको वेबसाइटसमेतमा सार्वजनिक गरिएको संयोजक यादवले जानकारी दिए।
समितिले स्थल र हवाई यातायातमार्फत् क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्लामा पठाउन सुरु गरिसकेको जनाएको छ।
निर्वाचन अधिकृत खटाएसँगै भदौ १८ गते तोकिएको वडा अधिवेशनका लागि नेता कार्यकर्ता जिल्ला र गाउँ फर्किन सुरु भएको छ। नवीकरण र नयाँ गरी करिब ९ लाख क्रियाशील सदस्य पार्टीको गाउँ/नगर/वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने पार्टीको विधानमा उल्लेख छ।
भदौ १८ गते वडा समिति, भदौ २७ गते गाउँ/नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश निर्वाचन क्षेत्र अधिवेशन हुनेछ। यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज ५ गते हुनेछ। यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।
कांग्रेसले विधानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको गरी ८ तहगत संरचनाको व्यवस्था गरेको छ। पार्टीभित्र ८ तहगत निर्वाचन हुने यस्तो संरचना बनाउने कांग्रेस मुलुकको पहिलो पार्टी बनेको छ। पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमिति एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १६८ सदस्यीय हुनेछ।