शुक्रबार, भदौ ५, २०८३

के चाहन्छ नवगठित नेकपा (एकीकृत समाजवादी)? [१२ बुँदामा]

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने बताएका छन्। नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने बताएका छन्। नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे। 

नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे।

सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सात विषयलाई आफ्नो पार्टीले महत्व दिने उनको भनाइ थियो। एकीकृत समाजवादी पार्टीले सरकारी जागिर खानेलाई पार्टीको सदस्यता वितरण नगर्ने नीति लिएको छ। अध्यक्ष नेपालले पार्टीले गर्न चाहेका केही योजना पनि सार्वजनिक गरेका छन्। 

यस्ता छन् नेकपा (एकीकृत समाजवादी) का योजना

१. हामी हाम्रा अग्रजहरूले प्रस्तुत गर्नुभएका क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको बलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अबसरवादको भासमा डुब्न र विसर्जन हुनबाट जोगाउन चाहन्छौं। 

२. हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौं। त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौं। 

३. नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न चाहन्छौं। यही दायित्बोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन र रूपान्तरण गर्न चाहन्छौं। यस महान् कार्यमा सबैबाट हार्दिक सहयोगको अपेक्षा पनि गर्दछौं। 

४. हामी देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको हाम्रो दायित्वबाट पञ्छिन सक्तैनौं। हामी हाम्रो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौं। त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं। 

५. नेपालको कम्युनिस्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारीले स्थापित गर्नुभएको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौं। त्यसका निम्ति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ। 

६. नेकपाको पुनर्गठन र रूपान्तरणको यस महाअभियानमा आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्‍याउनुहुन सवैमा हार्दिक आह्वान गर्दछौं। 

७. वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा हामी मुलुकमा राजनीतिक स्थिरता कायम गर्न चाहन्छौं। त्यसका निम्ति चालू प्रतिनिधि सभालाई पूर्ण कार्यकाल टिकाउन चाहन्छौं। 

८. संविधानको रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौं। 

९. सरकारले सुशासन र पारदर्शितालाई दृढताका साथ अवलम्बन गरोस् भन्ने चाहन्छौं। 

१०. सरकारबाट जनहित जनसरोकारका काम होउन् भन्ने चाहन्छौं। 

११. हामी जनताका इच्छा, आकांक्षा, चाहना र समस्याको यथाशीघ्र यथोचित रुपमा तदारुकताका साथ सम्बोधन होस् भन्ने चाहन्छौं। 

१२. राष्ट्रिय विकासका काम तथा अभियान अगाडि बढाउन चाहन्छौं । यिनै उद्देश्यका साथ आगामी दिनमा हामी क्रियाशील हुनेछौं । यी कार्यमा सबैबाट सहयोगको अपेक्षा पनि गर्दछौं। 

प्रकाशित: Aug 26, 2021| 22:01 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...