काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको दक्षिणपन्थी भासबाट जोगिएर नयाँ दल गठन गरी नयाँ अध्यायको थालनी गरेको बताएका छन्। सो पार्टीले राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरु गरेका छोैं। केपी ओलीको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धारको नयाँ पार्टी दर्ता गरेका छौं।’
केपी ओलीले माक्र्सवाद र बहुदलीय जनवादलाई तिलाञ्जली दिएर पार्टीलाई निजी कम्पनीमा रूपान्तरण गरेपछि विद्रोहको विकल्प नरहेको उनको भनाइ छ। उनले यहाँसम्मको यात्रा अति नै कठिन रहेको पनि बताए। अध्यक्ष नेपालले भने, ‘नयाँ यात्रा आरम्भ गर्न थालेका छौं। नेपालको कम्युनिस्ट आन्दोलन मात्रै होइन, विश्वकै सन्दर्भमा पार्टी गठन–पुनर्गठन हुने क्रम नयाँ होइन।’
उनले एमालेको संस्थापक र मूल नेता आफू नै रहेको बताए। उनले पार्टीलाई उचाइमा लैजान पनि आफूहरूले ठूलो योगदान दिएको दाबी गरे।नेकपा (एकीकृत समाजवादी) बुधबार निर्वाचन आयोगमा दर्ता भएको थियो। दल दर्ता भएपछि पार्टीले पहिलोपटक पत्रकार सम्मेलन गरेको हो।