मंगलबार, असार २४, २०८२

देउवाजी र पौडेलजी मिलेपछि अरु कोही नचाहिने ?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
डा. शेखर कोइराला कांग्रेसका बौद्धिक र शालिन नेता हुन् । कार्यकर्ता पंक्तिमा लोकप्रिय कोइराला राष्ट्रिय राजनीतिमा पनि एउटा आकर्षक पात्र हुन् ।  कोइराला परिवारमा जन्मिए पनि शेखरको आफ्नो खालको छवि छ । कांग्रेसको आगामी नेतृत्वका लागि संभावित र भरोसा गरिएका केही थोरै पात्रमध्येमा शेखर पर्छन् । चिकित्सा पेसा छोडेर पूर्णकालीन राजनीतिमा होमिएका कोइरालाले छोटो समयमा पार्टीभित्र आफ्नो भूमिका र स्थान स्थापित गरेका छन् । 

दिवंगत गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा सहयोगीका रुपमा नजिकबाट शासकीय अनुभव बटुलेका कोइरालाको राष्ट्रिय राजनीति तथा भूराजनीतिमा समेत आफ्नै खालको प्रभाव र सुझबुझ छ । पार्टीको जागरण अभियान, आगामी महाधिवेशन, सरकारको भूमिकालगायतका विषयमा कांग्रेस नेता कोइरालासँग नेपाल समयका लागि बीपी साहले गरेको कुराकानी -


० कांग्रेसको जागरण अभियान सकियो। यसको उलब्धि के पाउनुभयो त?

-  जागरण अभियान केन्द्रीय समितिमा छलफल नै नभई सुरु भएको हो। छलफल गरेर अगाडि बढेको भए राम्रो हुन्थ्यो। मलाई अभियानले १४ औँ महाधिवेशन रोक्न खोजेको अनुभूति भएको थियो। नभन्दै अभियानका क्रममा उपसभापतिज्यूले नै भनिदिनुभयो- अब दुई वर्षसम्म महाधिवेशन हुँदैन।

मअभियानका क्रममा काभ्रेमा खटिएको थिएँ। त्यहाँका नेताकार्यकर्ताले प्रश्न गरे- अभियान तपाईंहरूलाई चाहिएको हो कि हामीलाई? कार्यकर्ता पनि सन्तुष्ट देखिएनन्। उनीहरूको सक्रियता पनि उत्साहजनक थिएन।

० कार्यकर्ता सक्रिय नभएका कांग्रेसको आन्तरिक गुटका कारणले हो?

-    कहीँ कहीँ त हो। मलाई कतिले सुझाव पनि दिए- गुटको कुरा नगर्नुस् भनेर। हामीले यस्ता विषयलाई पार्टीभित्र आलोचनात्मक रूपमा उठाउनैपर्छ।नेताहरूकै कारण पार्टीमा गुटउपगुट भएको कार्यकर्ताको भनाइ छ। केन्द्रीय नेताहरू गाउँ तहका कार्यकर्ता जति पनिसचेत छैनन्।



० जागरण अभियान महाधिवेशनसार्ने खेलका रुपमा प्रयोग गरिएको भन्नुभयो। यसो भन्नुको भित्री कुरा के हो?

-  त्यो हामीले बुझ्दैछौं। तर, सार्नुको कारण उहाँहरूले दिँदै हुनुहुन्छ। उहाँहरू भन्नुहुन्छ- सुशील कोइरालाले सार्नुभयो, गिरिजाप्रसाद कोइरालाले सार्नुभयो। त्यसकारण हामीले पनि सार्नमिल्छ।गिरिजाप्रसादले सार्ने बेलामा नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एक ठाउँमा उभिएका थिए। त्यसपछिराजाको निरंकुशताका बेला पनि हामीले महाधिवेशन गरेका थियौं। १९ माघको दिन त जिल्ला जिल्लामा अधिवेशन चल्दै थियो।

सुशील दाले महाधिवेशन सार्दा संविधान आउँदै थियो। त्यसबेला मैले भनेको थिएँ,‘संविधान एक महिना ढिलो गरौं र पार्टीको महाधिवेशन सम्पन्न गरौं।’तर, साथीहरूले संविधान बनेपछि महाधिवेशन गर्ने भने। अर्को कुरा,कांग्रेस अहिले संसद्मा छ पनि र छैन पनि। सातै प्रदेशमा हाम्रो संरचना छैन।

पहिले कांग्रेसको संगठन बनाउनुपर्छ, जागरण अभियान होइन। संघीयताका विषयमा पनि कांग्रेसमा विवाद छ। मसंघीयता कार्यान्वयनमा लग्नुपर्छ भन्ने पक्षमा म छु।तर जनताले हामीलाई प्रश्न गर्छन्-तिमीहरूको संघीय संरचना खै?साढे तीन वर्ष भइसक्यो, हामीले प्रदेश, गाउँपालिका, वडाको संरचना बनाउन सकेको छैनौं। त्यसले हाम्रो प्राथमिकता महाधिवेशन हो।

० देशमा भ्रष्टाचार बढ्नुमा कांग्रेस पनि जिम्मेवार छ हैन? कांगे्रसका नेता मुछिनेबित्तिकै भ्रष्टाचार हराउँछ। कारण के होला?

- समस्या छ। अहिले जहाँतहीँ भ्रष्टाचारछ। राजनीतिक दलका नेतृत्वको मिलोमतोमा भ्रष्टाचार भइरहेको छ। नेता, व्यापारी, कर्मचारीको मिलोमतोमा भ्रष्टाचार हुन्छ। सरकारमा भएका नेताले मात्रै भ्रष्टाचार गर्छन् भन्ने होइन। अन्य दलकाले पनि गर्छन्। यो डर लाग्दो अवस्था हो।सम्पत्तिशुद्धीकरण विभाग रन्यायपालिका निरीह भए।नेताहरू नै संलग्न भएकाले भ्रष्टाचार मौलायो। त्यसमा कांग्रेसका नेता पनि छन्।

० भ्रष्टाचारको विरोध गरेर केही गर्ने समय आएन?

-  म यसमा हतार गर्नुपर्ने अवस्था देख्दिनँ। हाम्रो महाधिवेशन आउँदैछ। नेतृत्व पनि परिवर्तन हुन्छ। त्यसपछि भएन भने गर्नुपर्ने कुरा आउँछ। नेतृत्वले नै नीति परिवर्तन गर्नेछ।हाम्रा नेताहरूको नाम आउनेबित्तिकै विरोध रोकिन्छ। अहिले देशखराब परिस्थितिमा गएको छ। यसलाई सुधार्न कोही नकोही कोही आउनैपर्छ ।

० कोही आउनुपर्छ भनेको के हो ?

-  कांग्रेसको हकमा नेतृत्व परिवर्तन हुनुपर्छ। नेकपामा पनि परिवर्तन हुनुपर्‍यो। अन्य दलमा पनि परिवर्तन आउनुपर्‍यो। नीति त परिवर्तन हुनैपर्छ। नत्र दलहरू फेल हुन सक्छन् । दलहरू फेल भए पनिदेश नै फेल हुन्छ।
दुई तिहाइ ल्याउँदा लोकतन्त्रको अभ्यास बसाउँछ भन्ने लागेको थियो। तर, दुई तिहाइका प्रधानमन्त्री केपी ओलीले उल्टो काम गर्दै हुनुहुन्छ। हाम्रो पार्टीमा पनि लोकतान्त्रिक संस्कार हराउँदै जान थालेको छ।

०तपाईंबारम्बार कांग्रेसको नेतृत्व फेरिनुपर्छ भन्नुहुन्छ। तपाईको चाँहना के हो?

-  नेतृत्व कसैले दिएर हुँदैन। आफैँ लिनुपर्छ। एउटा उदाहरण भन्छु- मलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाइयो। त्यसपछि मलाई यो संस्थाको माथिल्लो तहमा जान्छु भन्ने लागेको थियो। काम गर्दै गएँ।बिस्तारै कांग्रेस राजनीतिमा सक्रिय भएँ।

० भनेपछि आगामी महाधिवेशनमा सभापति उठ्नुहुन्छ?

-  अहिले म भन्न सक्दिनँ। तर मैले आफ्नो सन्दर्भबाट हेर्दा एउटा उमेरमा पनि फ्याक्टर हुन्छ। मैले रामचन्द्रजी, शेरबहादुरजी जस्तो सधँै सभापति बन्न चाहेको छैन। म अब पाँच-सात वर्ष मात्र सक्रिय राजनीतिमा रहन्छु । त्यसपछि बिस्तारै छोडिदिन्छु। 

० आगामी नेतृत्वका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल किन अनुपयुक्त छन् ?

-  मैले अनुपयुक्तभनेको होइन। उहाँहरूलाई म एकदमै आदर गर्छु। प्रजातन्त्रका लागि उहाँहरूले खेलेको भूमिका उच्च स्तरको छ।तर, अब गाह्रो छ। युवा पुस्ता अगाडि आइसके। उहाँहरू लड्नुहुन्छ भने स्वागत छ।

० केही दिनअघि विराटनगरमा कोइराला परिवारमाठूलै कार्यक्रम भएको थियो। त्यहाँ के सहमति भयो ?

- कोइराला परिवारबाट सक्रिय राजनीतिमा हामी तीनजनाम, शशांक रसुजाता छौं। तीनै जनाको इच्छा भिन्नाभिन्नै होलान्। अहिले हामीभेटघाट गर्दैछौं। यसमा थप केही भन्न सकिँदैन। राजनीतिमा सबैको चाहना हुन्छ।पार्टी लथालिंग छ। देशको अवस्था पनि म लथालिंग देख्छु।

नेकपाले दुई तिहाइ ल्याउँदा लोकतन्त्रको अभ्यास बसाउँछ भन्ने लागेको थियो। तर, दुई तिहाइका प्रधानमन्त्री केपी ओलीले उल्टो काम गर्दै हुनुहुन्छ। हाम्रो पार्टीमा पनि लोकतान्त्रिक संस्कार हराउँदै जान थालेको छ।



० तपाईँको र सभापति देउवाबीच टकराव हुने कारणचाहिँ के हो?

-  म उहाँलाई अत्यन्तै आदर गर्छु। मेरो सिनियर हुनुहुन्छ। तर गलत कुरा म सहन सक्दिनँ। गिरिजाबाबुले भनेको कुरा पनि मैले मानेको थिइनँ। सुशील दाको कुरा पनि मानेको थिइनँ। आदर गर्ने कुरा बेग्लै हो तर गलत कुरा म सहन्नँ।

० जस्तो कि?

-    नेपाली कांग्रेसको महासमितिले निर्णय गर्ने अनि केन्द्रीय समितिले उल्टाइदिने। यस्तै हो भने किन चाहियो महासमिति? महासमिति ठूलो कि केन्द्रीय समिति ठूलो? यो कुरा त गलत हो नि। मैले पटकपटक सभापतिलाई भनेँ- प्रधानन्यायाधीशलाई महाभियोग नलगाउनुस् यो गलत काम हो। आइजीपी प्रकरणमा नफसौँ। राजदूत काण्डमा फस्नु हुँदैन । तर मैले भनेको कुनै कुरा पनि सुनुवाइ भएन र कांग्रेस विवादमा पर्‍यो।

हामी धेरै भागबन्डा र आन्तरिक कुरामा धेरै नै अल्झियौं। संगठन र कार्यकर्तातिर ध्यान नै जान सकेन । आन्तरिक व्यवस्थापनमा डिल हुनु नराम्रो हो । सभापति शेरबहादुर जी र रामचन्द्रजी मिलेपछि अरु कोही नचाहिने ? यो त हुँदैन नि । पार्टी त एउटा पद्धतिमा चल्नुपर्यो । 

म अब आफ्नो दह्रो खुट्टा टेकेर अगाडि बढ्दैछ्। उहाँहरूले त्यसलाई ‘इस्यु’ बनाएर हिँड्नुहुन्छ भने मलाई केही छैन। मलाई बीपी कोइराला, गिरिजा कोइराला र मेरा आमाबुबाले राजनीतिक संस्कार दिनुभएको छ। म त्यहीअनुसार हिँड्छु।

० अनितपाईंले हिन्दु राष्ट्रका विषयमा पनि कुरा उठाइराख्नुहुन्छ नि?

-  यो संवेदनशील विषय हो।संविधान निर्माणताका धर्मनिरपेक्षताका विषयमा छलफल भइरहेको थियो। तर कांग्रेसभित्रकानेताहरूले सुन्न चाहेका थिएनन्। अनि मैले पहल गरेर १२ घन्टा जति छलफल गर्‍यौं।  नेताहरूले थाहा पाउनुभयो र ह्विप लगाउनुभन्दा पाँच मिनेट पहिले मैले संशोधन दर्ता गराएँ। 

शीर्ष नेताहरूले मलाई बोलाउनुभयो। संशोधन फिर्ता लिन आग्रह गर्नुभयो। धेरै दबाबपछि फिर्ता लिन बाध्य भएँ। जो सांसदहरूले मसँग कुरा गर्थे, तिनीहरूलाई शेरबहादुरका मान्छे, सुशील दाका मान्छे र रामचन्द्रजीका मान्छेले बोलाइहाल्थे। त्यही भएर म पछि हटेँ। तर धर्मबारे म स्पष्ट छु।

संविधानमा तीनवटा कुरा छन्- पहिलो, धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्मसंस्कृति संरक्षण। दोस्रो, गाई हाम्रो राष्ट्रय जनावर हो। तेस्रो, प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन भनिएको छ।

संविधान निर्माणका बेला सबै नेता भारत गएका थिए। कुराकानी भएको थियो होला। मैले त्यतिबेला प्रचण्डलाई भनेको थिएँ, ‘ठूलो देशका मानिसलाई हिन्दु राष्ट्रका बारेमा कुनै प्रतिबद्धता नजनाउनुस्, प्रतिबद्धता गर्नुभएको छ भने पूरा गर्नुस्, पूरा गर्न सक्नुहुन्न भने एउटा फोन गरिदिनुस्।’ भारतका तत्कालीन परराष्ट्रमन्त्रीले राज्यसभामा बोल्नुभएको थियो। उहाँले मलाई पनि भन्नुभएको थियो। हाम्रा नेताहरूले प्रतिबद्धता गरेर आउनुभयो तर पूरा गर्नु भएन।

संविधानबाट धर्मनिरपेक्षता हटाउन पहिले त संविधान संशोधन गर्नुपर्छ। त्यो सम्भव छैन। जनमत संग्रह गरौं त्यो पनि सम्भव छैन। म सबैलाई भन्छु- पाँच लाख मान्छे काठमाडौंमा जम्मा गर्नुस्।

संसद् घेर्नुस्। आफैँ हुन्छ। तर त्यसपछि हाम्रो संविधान पंगु बन्न सक्न। धर्मनिरपेक्षतासँगै संघीयता पनि जान्छ। लोकतन्त्र पनि जान्छ। त्यसकारण अहिले म बोलेको छैन। म धर्मनिरपेक्ष लेख्नु हुँदैन भनेर भन्दै थिएँ।तर लेखियो। अब के गर्ने?त्यसैले मान्छेले राजा ठिक भन्न थाले किनभने हामीले गरेको गल्तीले जनताले त्यसतर्फ सोच्न लागेका हुन् नि।



०वर्तमान सरकारको कुरा गरौं, यो सरकार कतातिर जाँदैछ?

-  मलाई पूरा विश्वास थियो ओलीजीले केही गर्नुहुन्छ। धेरै कुरा सुधार्नुहुन्छ। तर उहाँबाट त्यो भएन। अहिले उहाँ जसरी अघि बढ्दै हुनुहुन्छ, त्यो सबभन्दा खतरनाक छ। सुरुमा उहाँले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न नपाउने कुरा ल्याउनुभयो। त्यसबेला हामीले अनुमान लगाउन सकेनौं। मलाई लाग्छ कांग्रेसले त बुझ्नै सकेन। 

सम्पत्ति शुद्धीकरण विभाग किन उहाँले लिनुपर्‍यो? उहाँले लिएको कारण अहिले अप्ठेरो परेको छ। राजस्व अनुसन्धान विभाग किन लिनुपर्‍यो? राष्ट्रिय अनुसन्धान विभाग लिएर पंगु भएको छ। यहाँ पनि दुईवटा अनुसन्धान विभाग बनाए भयो। अमेरिकामा पनि दुईवटा निकाय छन्। गृहसचिवको अनुमतिबिना यहाँ गृहमन्त्री बोल्न सक्ने अवस्था छैन। यसले कहाँ पुर्‍याउँदैछ हामीलाई?

हाम्रो देश लोकतान्त्रिक प्रक्रियामा जानै खोजेको छैन। अटोक्रेसीतिर जाँदैछ।हुँदाहुँदै न्यायपालिका पनि निरीह भएको छ। एनसेलको कर छलीमा कतिवटा निर्णय गर्‍यो न्यायपालिकाले? यस्तो पनि न्यायपालिका हुन्छ? सम्पत्तिशुद्धीकरणको घटनामा केही न्यायाधीशले सम्पत्ति निकाल्न भन्छ । फेरि त्यही न्यायाधीशले रोक भन्छ।यहाँ सरकार त भएन-भएन प्रतिपक्षी पनि प्रतिपक्षजस्तो भएन। 

० अहिले अमेरिकाको इन्डो-प्यासेफिक रणनीति र चीनकोबिआरआईको सन्दर्भलाई तपाईं कसरी लिनुभएको छ?

-  अहिले हामी संयमित र सन्तुलित भएकार अगाडि जानुपर्छ। दुईवटा ठूलो छिमेकी छन्। उनीहरूले आफ्नै बीचको सम्बन्ध पनि बनाउँदैछन्।उनीहरूले आफ्नो स्थार्थमा काम गर्छन्। तर हाम्रो यताको कुरा उता गर्ने बानी ठिक होइन।

बिआरआईठिक हो भन्ने पनि छ र बिआरआईले हामीलाई ट्र्यापमा पार्छ भन्ने पनि छ। हामीले यस विषयमा निकै सोच्नुपर्छ। बीआरआई नेपालका लागि खराब होइन।चीनबाट रेलमा मान्छे ढुवानी गरेर हामीलाई फाइदा हुँदैन। विश्वको कुनै रेलवे मान्छे ओसारेर फाइदामा गएको छैन। सामान ढुवानीबाट पो फाइदामा जाने हो। चीनले त रेलबाट सामान पठाउला तर हामीले के पठाउने? हामीसँग पठाउने कुराको तयारी छैन।

भारतसँग चीनको सम्बन्ध राम्रो भयो भने उनीहरूले हामीलाई सोध्दैनन्।आफैँ ल्याइहाल्छ। मैले रेल चाहिँदैन भनेर भनेको होइन। तर ऋणको एग्रिमेन्ट वल्र्ड बैंक जस्तो एक प्रतिशतमा झर्नुपर्‍यो। रेलको सट्टास्तरीय सडक बनाएर जान पनि सकिन्छं। उता भारतले बिआरआईको विरोध गरिरहेको छ। बलुचिस्तान र कस्मिरबाट गइरहेकाले भारतले विरोध जनाएको हो। अमेरिकाले त खुलेरै विरोध गरेको छ।

इन्डो-प्यासिफिकमा नेपाल फस्दै गएको छ। सरकारले त्यहाँ एउटा कुरा गर्छ। यहाँ आएर अर्को कुरा गर्छ। नेपाल रणनीतिक क्षेत्र हो। त्यसकारण संयमित र सन्तुलित भएर अगाडि बढ्नुपर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...