काठमाडौं– नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद् सदस्यबाट पदमुक्त गरेका १४ जनाको सनाखत दल विभाजनमा मान्यता नदिन निर्वाचन आयोगसँग माग गरेको छ।
एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलसहितको टोलीले नयाँ पार्टी दर्तालाई आधिकारिकता दिदा पार्टीले कारबाही गरेका १४ सांसदको सनाखत नलिन माग गरेको हो। एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको खरेलले बताए। सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानुनविपरीत जान नमिल्ने उनको भनाइ छ।
एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो। तर, अझैसम्म सभामुखले उक्त पत्रमाथि कुनै निर्णय लिएका छैनन्। एमाले सांसदहरुले पटक पटक दबाब दिँदा पनि सभामुखले अध्ययनको क्रममा रहेको बताउँदै आएका छन्।
पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने खरेलले बताए। १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन्।
सभामुख अग्नि सापकोटाले पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त गर्न अनाकानी गरेपछि एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको खरेलले बताए। आयोगले भोलि बुधबार एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई सनाखतका लागि सशरीर उपस्थित हुन भनेको छ। आयोगले यसका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ।
नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताको निवेदन दिएका छन्। एमालेका ५८ केन्द्रीय सदस्यले दल विभाजनमा समर्थन गरेको भनेर नेपाल पक्षले निवेदन पेश गरेको थियो।