काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटि २ दिनभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन्। त्रुटि नसच्याए केन्द्रीय कार्यालय सानेपामा अनशन बस्ने चेतावनीसमेत उनीहरुले दिएका छन्। यसको जानकारी उनीहरूले इमेलमार्फत् दिएका छन्।
‘क्रियाशील सदस्यताका त्रुटि २ दिनभित्र नसच्याए अनशन गर्ने जानकारी सभापतिलाई गराएका छौं,’ नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले भने।
क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४औं महाधिवेशनको कार्यतालिका ६ पटक संशोधन भइसकेको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ।
जिल्ला सभापतिहरुले पठाएको पत्र
श्रीमान सभापतिज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
वीपी स्मृति भवन, वीपीनगर, ललितपुर ।
विषय: माग संवोधनका लागि हार्दिक अनुरोध
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देशभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावी नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशत भन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं । यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन् पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिध्दि गर्न, लामो समयदेखि पार्टीमा रगत-पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौं संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भइरहेबाट हामी स्तब्ध भएका छौं । त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।
तसर्थ,
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस् ।
२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस् ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस् ।
हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनशनलगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं। जय नेपाल ।
विनीत
जिल्ला सभापति एवं साथीहरु