आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

साढे दुई वर्षअघि हराएको एसएमजी गनको नम्बर पनि एउटै हो। त्यसकारण पनि हाल कारागारमा रहेका सैनिकद्वय लबकुमार र सरोज निर्दोष देखिन्छन्।
 |  शनिबार, भदौ ५, २०७८

अनिल यादव

अनिल यादव

शनिबार, भदौ ५, २०७८

काठमाडौं- यसअघिको शृंखला ६ मा हामीले गंगाधर ढकालको बयान प्रकाशित गरेका थियौँ। गंगाधर तिनै सैनिक जवान हुन्, जसले गत साउन ७ गते चितवनमा आफ्नै साथी नेपाली सेनाका हुद्दा भरत गुरुङको गोली हानी हत्या गरेका थिए। 

triton college

गंगाधरलाई जब प्रहरीले Sterling 9M/m NKR 100792 नम्बरको एसएमजी (सट मेसिन गन)सहित पक्राउ गर्‍यो, त्यसपछि साढे दुई वर्षअघि चितवनस्थित भरतपुरकै कालीबहादुर गणमा हराएको एउटा गन प्रकरणको रहस्यमय पर्दा खुल्यो।

जुन गनको प्रयोग गरेर गंगाधरले आफ्नै सहकर्मीको हत्या गरे, त्यही गन चोरी गरेको अभियोगमा सैनिक अमल्दार लबकुमार गुरुङ र सैनिक जवान सरोज तामाङ साढे दुई वर्षयता जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।

हामीले यसअघिको शृंखलामा अभियुक्त गंगाधरले जिल्ला अदालत चितवनमा दिएको बयान प्रकाशित गरेका थियौँ, जहाँ उनले त्यो गन ०७५ साल जाडोको महिनामा चोरेको स्वीकारेका छन्। जाडो अर्थात्, पुसकै महिना हो, लबकुमार र सरोजलाई त्यही गन चोरी गरेको कबुल गराउन करिब चार महिना सैनिक हिरासतमा राखेर यातना दिइएको थियो। 

हाल कारागारमा रहेका सरोजसँग चितवनमै पुगेर सम्पर्क गर्ने मौका हामीलाई मिलेको थियो। जहाँ उनले आफ्नै संगठनबाट कसरी फसाइयो, पुरै यातनाको वृत्तान्त हामीलाई सुनाएका थिए। शृंखलाको दोश्रो भागमै हामीले उनको त्यो बयान प्रकाशित गरेका छौँ।  

corrent noodles
Metro Mart

अब फर्कौँ गंगाधरकै बयानतर्फ। 

अदालतको मिसिल हामीले प्राप्त गरेका छौँ, गंगाधरले बयानका क्रममा भनेका छन्, ‘म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ। सो समयमा भरतपुरस्थित सेनाको ब्यारेकको चौबीस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरू अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ।’ 

गंगाधरको बयान मात्रै होइन, उनको साथबाट एसएमजी गन बरामद गरिएको थियो। साढे दुई वर्षअघि हराएको एसएमजी गनको नम्बर पनि एउटै हो। त्यसकारण पनि हाल कारागारमा रहेका सैनिकद्वय लबकुमार र सरोज निर्दोष देखिन्छन्। 

गंगाधरको साथबाट हराएको गन भेटियो भन्ने खबर सुन्नासाथ उदयपुर गाइघाटमा रहेका लबकुमारको परिवार र मोरङ सुन्दरहरैँचामा बस्ने सरोजको परिवार यतिबेला न्यायका लागि दौडधुपमा छ। हामीले दुवै परिवारलाई चितवनमै भेटेर, उनीहरूले भोगेको यातनाको कथा पनि यसअघिको शृंखलामा प्रकाशित गरिसक्यौँ। 

साढे दुई वर्षअघि हराएको एसएमजी गनको नम्बर पनि एउटै हो। त्यसकारण पनि हाल कारागारमा रहेका सैनिकद्वय लबकुमार र सरोज निर्दोष देखिन्छन्। 

र, चितवनमा भेटिएका उनीहरूको परिवार यतिबेला न्याय खोज्दै राजधानी आइपुगेको छ। बिहीबार काठमाडौं आइपुगेको उनीहरूको परिवारलाई न्याय कसले दिन्छ, केही पनि थाहा छैन। 

‘गन अर्कैले चोरेको पुष्टि भइसक्यो, अब त मेरो श्रीमान् जेलबाट छुट्लान् भन्ने लागेको धेरै दिन भइसक्यो। तर खोइ! केही अत्तोपत्तो छैन,’ सैनिक अमल्दार लबकुमार गुरुङकी पत्नी प्रमिला तामाङ यतिबेला आफ्नो निर्दोष श्रीमानको न्यायका खातिर सहयोगी हात खोजिरहेकी छिन्। 

उता सरोजकी आमा माया तामाङ पनि छोराको रिहाइका लागि काठमाडौंमा छिन्। ‘मेरो छोराले दुई वर्षअघि जेलमा भेट्न जाँदा ‘तपाईको दूधको कसम मैले केही गल्ती गरेको छैन, आमा!’ भनेको थियो। अहिले त्यो पुष्टि भइसक्यो। त्यही पनि किन छोड्दैनन् मेरो छोरालाई?,’ मायालाई छोराको रिहाइ नहुँदा अचम्म लागेको छ। 

लबकुमार र सरोज दुवैको परिवार यतिबेला काठमाडौंमा आइपुगेर अब कहाँ जाने भनेर अल्मलिएका छन्। कसलाई भेट्ने पत्तो छैन। उनीहरू गृहमन्त्री पनि भेट्न चाहन्छन्, रक्षामन्त्री पनि भेट्न चाहन्छन्। मानवअधिकार आयोगमा गएर उजुरी पनि दिन चाहन्छन्। मिल्यो भने, सर्वोच्च अदालतकै ढोका ढक्ढकाउन चाहन्छन्। 

‘खोइ बाबु, हामी त अलमलमा छौँ,’ सरोजकी वृद्धा आमा माया भन्छिन्, ‘आएको दुई दिन भइसक्यो। अब दुई-तीन दिन त सरकारी बिदा रे! कसैलाई भेट्न नपाइने भयो। यहाँ आएपछि त पक्कै न्याय पाइन्छ भनेर आ’को। खोइ हेरौँ, के हुन्छ!’

जिल्ला अदालतले सैनिक अदालत पठाउन मिल्छ? 

भरत गुरुङको हत्या र त्यो हत्यामा प्रयोग गरिएको हतियार कालिबहादुर गणबाट चोरी गरेको स्वीकार गरेका गंगाधर ढकाललाई भदौ १ गते जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासमा भएको थुनछेक बहसले यो मुद्दा सैनिक अदालतमा पठाउने आदेश दिएको छ। 

जिल्ला प्रहरी कार्यलय चितवनले ढकालविरुद्ध ज्यानसम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। तर, अदालतको आदेशपछि प्रहरीको हिरासतमा रहेका ढकाललाई प्रहरीले भदौ १ गते नै राति नै सेनाको जिम्मा लगाउन बाध्य भ‍यो। 



अनाहकमा कैद सजाय भुक्तान गरिरहेका सैनिक सरोज तामाङ।

‘घटनामा मार्ने र मर्ने दुवै नेपाली सेनामा कार्यरत भएपनि उनीहरू दुवै बिदामा रहेका बेला व्यक्तिगत लेनदेनका कारणले घटेको घटना भएकाले यो जिल्ला अदालतले नै हेर्न मिल्ने मुद्दा हो, तर किन सैनिक अदालतलाई बुझायो थाहा भएन,’ अधिवक्ता गोपालकृष्ण घिमिरेको मत छ। 

यता जिल्ला अदालतका स्रेस्तेदार ईश्वर आचार्य सैनिक मुख्यालयले मागेका कारण यो मुद्दा सैनिक अदालतमा सुम्पिएको बताउँछन्। ‘दुवै बहालवाला सैनिकको मुद्दा रहेछ, त्यसैले सेनाले माग्यो। अर्को, फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५१ ले अन्य अदालत वा निकायले हेर्नुपर्ने हो भने त्यतै पठाउने भन्ने प्रावधान पनि छ। त्यही प्रावधान अनुसार ढकालको मुद्दा सैनिक अदालतले हेर्नुपर्ने देखिएको हुँदा त्यही अनुसारको आदेश भएको हो,’ स्रेस्तेदार आचार्यले भने। 

सैनिक मुख्यालयले पनि सैनिक ऐनको दफा ६५ को उपदफा १ लाई टेकेर ढकालको मुद्दा जिल्ला अदालत चितवनमा माग गरेको देखिन्छ। यो दफामा लेखिएको छ, ‘यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले दफा ३८ देखि ६५ सम्मका कसुरहरू गरेको अवस्थामा र उल्लेखित कसुरहरू सैनिक-सैनिक बीच भएको अवस्थामा बाहेक यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले देहाय बमोजिमको कसुर गरेमा सो सम्बन्धी मुद्दा अन्य अदालतको क्षेत्राधिकारभित्र पर्नेछ:-

(क) हत्या
(ख) बलात्कार।

तर, यता सेनाले कर्तव्यज्यानसम्बन्धीको यो मुद्दा आफ्नो अदालतमा माग्नु र जिल्ला अदालतले पठाउनुमा बदनियत देख्छन्, एक अधिवक्ता। ‘यो ज्यानसम्बन्धी मुद्दाको केससँग साढे दुई वर्षअघिको हतियार प्रकरण पनि जोडिएको रहेछ। सेनाको कोर्ट-मार्सल र अनुसन्धानमाथि नै ठूलो प्रश्नचिन्ह खडा भएको छ। दुई निर्दोष सैनिकलाई अनाहकमा फसाइएको स्पष्ट देखिन्छ। अब उनीहरूलाई रिहाइ गर्नुको विकल्प छैन। तर, सेनाले यसलाई आफ्नो संगठनको छविसँग जोडेर हेर्‍यो भने ढकालको बयान फेर्न लगाउने सम्भावना रहन्न भन्न सकिन्न,’ ती अधिवक्ताले भने। 

के भन्छ सेना ? 
यो मुद्दामा सेना यतिखेर के गरिरहेको छ त? अहिले सर्वत्र उठिरहेको प्रश्न यही हो। जतिबेला प्रहरीले गंगाधर ढकाललाई पक्राउ गरेर अनुसन्धान थाल्यो, त्यतिबेलादेखि नै सैनिक मुख्यालयले सेनाको एक अनुसन्धान टोली चितवन पठाइसकेको थियो। ‘सेनाहरू दिनहुँ आएर ढकाललाई भेट्थे, सोधपुछ गर्थे,’ जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरीले भने।

अनाहकमा कैद सजाय भुक्तान गरिरहेका सैनिक लवकुमार गुरुङ। 

हतियार प्रकरणबारे बुझ्न नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलसँग फोन सम्पर्क गर्दा उनी यो विषयमा अहिले केही बोल्न सक्ने अवस्थामा नरहेको बताउँछन्। ‘हामी अहिले आन्तरिक अनुसन्धानकै चरणमा छौँ,’ उनले भने, ‘हाम्रो अनुसन्धान टोली अहिले भरतपुर गणमा खटिएको अवस्थामा छ। त्यसैले मैले अहिले थप केही बोल्न सक्ने अवस्था छैन।’

‘गंगाधर ढकालको मुद्दा सैनिक मुख्यालयले किन सैनिक अदालतमा माग्यो त?’

यो प्रश्नमा उनको जवाफ थियो, ‘त्यो त माग्नेबित्तिकै जिल्ला अदालतले किन दियो, त्यहाँको प्रवक्तालाई नै सोध्नुस् न!’

(यो हतियार प्रकरणको अनुसन्धानमा सेना र प्रहरी कसरी चुके? अब के हुन्छ? हामी निरन्तर खोजविन र फलोअपमै छौँ। बाँकी शृंखलाका लागि नेपाल-समय हेर्दै गर्नुहोला।)

शृंखलाको छैटौँ भाग
यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

    करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। 

    शृंखलाको पाँचौं भाग

निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना

०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला। ...

शृंखलाको चौथो भाग

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ– बयानमा हेराफेरी नहोस्

सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

शृंखलाको तेस्रो भाग:

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

शृंखलाको पहिलो भाग:

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

प्रकाशित: Aug 21, 2021| 16:55 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्