काठमाडौं– माधवकुमार नेपालको साथ छाडेका नेताहरूले एमाले एकता प्रयास जारी राखेका छन्। विवाद समाधानका लागि गठित कार्यदलका नेताहरूले शुक्रबार राजधानीमा भेला आयोजना गरी एकता प्रक्रिया जारी राख्नका लागि पाँच वटा विषय अघि सारेका छन्। पाँचवटा प्रमुख मुद्दालाई सम्बोधन गर्न सकिएमा एमाले एकता हुने उनीहरुको दाबी छ।
भेलाले एमाले एकताका लागि प्रयास जारी राख्ने, १० बुँदे सहमति कार्यान्वयनमा दबाब दिने र १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन दबाब दिने निष्कर्ष निकालेको छ। यस्तै माधवकुमार नेपाललाई पार्टी दर्ता प्रक्रियाबाट पछि हट्न दबाब दिने र अध्यादेशको विरोध गर्न नेताहरू सहमत भएका छन्।
विष्टका अनुसार एमालेका १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने तथा दल दर्ताका लागि प्रक्रिया अघि बढाएका माधव नेपाललाई पछि हट्न आग्रह गर्ने निर्णय भएको छ।
नेता गोकर्ण बिष्टले भने, ‘एमाले एकता कायम राख्न हामी निरन्तरत प्रयासरत छौं। आगामी दिनमा पनि प्रयास जारी रहनेछ।’ उनले भेलाले अध्यादेशलाई विरोध गर्ने निर्णय गरेको बताए। विष्टले भने, ‘विवाद समाधानका लागि गठित १० बुँदे सहमति अक्षरसः पालना गराउन दबाब दिन नेताहरू सहमत भएका छन्।’ विष्टका अनुसार एमालेका १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने तथा दल दर्ताका लागि प्रक्रिया अघि बढाएका माधव नेपाललाई पछि हट्न आग्रह गर्ने निर्णय भएको छ।
भेलामा केन्द्रीय कमिटी र संघीय संसद्का गरी ५८ जना सहभागी रहेको विष्टले जानकारी दिए। नेताहरूले कार्यदलले दिएको १० बुँदे सहमति विपरीत पनि एकता सम्पन्न हुन नसक्नुमा नेताहरुकै कमजोरी रहेको ठहर गरेको थियो। यस्तै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेपालको संविधानलाई खिल्ली उडाउने काम भएको भन्दै नेताहरूले सरकारको आलोचना गरेका थिए।
अध्यादेश आइसकेपछि पनि एकता प्रक्रियाका लागि जारी राखेको पहल सफल हुन नसकेको विष्टले बताए। उनले भने, ‘दल दर्ता प्रक्रिया सुरु भएरै छाड्यो। एकता जोगाउनका लागि हामी क्रियाशील छौं।’ पार्टीमा विभाजन आउँदा एमालेका देशव्यापी कार्यकर्तामा निराशा देखिएको विष्टले बताए। भेलाले नेताकार्यकर्तालाई निराश नभएर पार्टीलाई सबल बनाउन संयम र मर्यादाका साथ एकताबद्ध हुन अपिल गरेको छ। यस्तै अएकताका लागि ओली पनि लचक पनि हुन आग्रह गरेको विष्टले बताए।