काठमाडौं- महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि गरेको प्रस्तावित नाम परिवर्तन गरेका छन्। पार्टीको नाम लोकतान्त्रिक समाजवादी राख्ने निर्णय भएको ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
आयोगले दर्ता भइसकेका पार्टीको नामको अगडि या पछाडि अन्य शब्द थप गरेर नाम नराख्न सुझाएपछि ठाकुर समूहले नयाँ नाम प्रस्ताव गरेको हो। नयाँ नामबारे शुक्रबार नै आयोगलाई जानकारी गराउन लागिएको नेता कर्णले जानकारी दिए।
‘निर्वाचन आयोगको सुझावअनुसार नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको छ। आजै आयोगमा जानकारी गराउने तयारी भएको छ,' उनले भने।
यसअघि उक्त समूहले जनता समाजवादी पार्टी (जसपा लोकतान्त्रिक) राख्नका लागि निवेदन दिएको थियो। यो समूहले साइकल चिह्न पाउने भएको छ।
पार्टीको नाम परिवर्तन भएसँगै केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू पनि थपिएका छन्। निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेर पुनः दल तथाका लागि दिइएको निवेदनमा ७ जना कार्यकारिणी समिति सदस्य थप गरिएको हो। सुरिता कुमारी साह, निलम शर्मा, पुष्पा ठाकुर, कमला कुमारी गुरुङ, निलम कुमारी यादव, प्रेमा चौधरी, रुकमीनी कुमारी देवी मण्डल लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको निवेदनमा उल्लेख छ।