काठमाडौं– पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिन गएका एमालेका सांसदहरु सभामुख अग्निप्रसाद सापकोटाले भेट नै नदिएपछि फर्किएका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा २ घण्टा कुरेर बसेका उनीहरु सभामुख सापकोटा कार्यालय नै नआएपछि फर्किएका छन्। कार्यव्यस्तताको बहाना देखाएर सभामुख सापकोटाले आफूहरुलाई भेट नै नदिएको पूर्व गृहमन्त्री समेत रहेका एमाले सांसद खगराज अधिकारीले नेपाल समयलाई बताए।
‘पार्टीले गरेको निर्णयलाई औपचारिकता दिन आग्रह गर्न हामीले २ घण्टा कुर्यौं, तर उहाँ नै नआएपछि भर्खरै फर्किएका छौं,’ अधिकारीले भने। कार्यव्यस्तता देखाएर सभामुख जिम्मेवारीबाट भागेको उनले आरोप लगाए। ‘आज निर्वाचन क्षेत्रको एक वरिष्ठ व्यक्तिको मृत्यु भयो, त्यही जानुपर्ने भयो भन्दै पन्छिनुभयो, तर यसरी कतिन्जेल भाग्नुहुन्छ, हामी पनि हेर्छौं,’ अधिकारीले भने। सभामुख आफ्नो जिम्मेवारीबाट पन्छिए आफूहरुले भोलिबाटै धर्ना सुरु गर्ने उनले चेतावनी दिए।
सभामुखले पूर्वाग्रहपूर्ण व्यवहार देखाएको एमाले सांसदहरुको आरोप छ। अरु पार्टीले गरेको कारबाही २४ घण्टाभित्रै सदर हुने एमालेले गरेको कारबाही यतिका दिनसम्म अल्झाउने भन्दै उनीहरुले सभामुखको कार्यालय अगाडि आक्रोश पोखेका थिए।
एमाले सांसदहरुले पार्टीले कारबाही गरेका १४ सांसदलाई बेलैमा पदमुक्त नगरे सभामुखका लागि महँगो पर्ने समेत चेतावनी दिएका छन्। ‘यदि बलमिच्याइँ गरेर उहाँले सूचना निकाल्न ढिलाइ गरे संसद् नै चल्न दिँदैनौं,’ एमाले सचेतक शान्ता चौधरीले चेतावनी दिइन्, ‘सभामुखले त्यसो गर्नुहुन्न होला, तर एमालेले निकालेका सांसदलाई राखेर संसद् चलाउन खोजे त्यो कदापि सह्य हुँदैन, कुनै हालतमा ससद् चल्दैन।’
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पदमुक्त गरेको सूचना जारी गर्न माग गर्दै सभामुखलाई दबाब दिन महेश बस्नेत, खगराज अधिकारी, लालबाबु पण्डितलगायतका सांसद सिंहदरबार पुगेका थिए।
हिजो बिहीबार पनि एमालेका केही नेताहरूले सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यालयमा पसेर कारबाहीको सूचना जारी गर्न दबाब दिएका थिए। एमाले संसदीय दलका सचेतक विशाल भट्टराईसहित शान्ता चौधरी, पूर्व गृहमन्त्री खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेतलगायत नेताहरू सभामुख कक्षमा पसेका थिए।
उनीहरूले सभामुखलाई भेट्नुको उद्देश्य त्यही थियो– पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको पत्र संसद् सचिवालयमा पठाएकोमा त्यसको सूचना टाँस गर्न आग्रह गर्नु र नमाने दबाब दिनु। सांसद महेश बस्नेतले सभामुख सापकोटालाई थर्काउने शैलीमा आजै सूचना नटाँसे बल प्रयोगको अवस्था आउने भन्दै चेतावनी दिए। बस्नेतको कडा शैलीपछि सभामुख सापकोटाले कसैको दबाबले निर्णय नलिने बताए। उनले आफू छलफल, परामर्श र अध्ययनमा रहेको बताएका थिए।
वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन हुने गरी नयाँ दल दर्ता गरेसँगै एमालेमा राजनीतिक तरंग बढेको छ। सरकारले दल विभाजनसम्बन्धी कानुनको थ्रेसहोल्ड अध्यादेशमार्फत २० प्रतिशतमा झारेको छ। उक्त अध्यादेशमार्फत नेता नेपालले पार्टी फुटाउने बुझेपछि गत वैशाख २७ गते ह्विप उल्लंघन गरेको आरोपमा ओलीले नेपालसहित १४ सांसदमाथि कारबाही अघि बढाएका छन्। सोही अनुरुप उनले संसद् सचिवालयमा पत्र पठाएका थिए।
तर, सभामुख सापकोटाले उक्त विषयमा अध्ययन गरिरहेको भन्दै पत्रको कार्यान्वयन गरेका छैनन्। सांसदलाई पदमुक्त गर्न पठाएको पत्रको कार्यान्वयन नगरेको भन्दै ओली पक्ष भने असन्तुष्ट छ। ओलीले सभामुखलाई प्रचण्डको कार्यकर्ता भएको र पद छाडेर माओवादीमा फर्किन चेतावनी दिइरहेका छन्।
बिहीबार नै एक अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो। पहिले टोपबहादुर रायामाझी, लेखराज भट्ट लगायत उहाँहरुलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो। सरिता गिरीलाई निकालिएको छ भन्नेबित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो। अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ? नेकपा एमालेले हटाएका मान्छेहरु नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न? सभामुखको कर्तव्य त्यही हो। ट्रेडिसन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला–पहिला। यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु भन्न पाइन्छ? सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन र फैसला गर्ने होइन।’
ओलीले थपे, ‘कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन भनेर हेर्ने न्यायाधीश होइन सभामुख। निष्काशन गरेको सूचना टाँसिदिने हो। सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पाटीमा सूचना टाँस गर्नेसम्मको काम हो। न्यायाधीश पल्टिने हो र? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने होरु एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने होर? उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ। अग्नि सापकोटाजीलाई म सोध्न चाहन्छु, संसद चलाउनु छ कि छैन उहाँलाई?’