काठमाडौं– नयाँ दल दर्ताका लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले दिएको निवेदन निर्वाचन आयोगले अस्विकार गर्ने भएको छ। पुरानै पार्टीको नाममा कोष्ठ थपेर नाम राख्ने गरी निवेदन दिएपछि आयोगले त्यसलाई अस्विकार गर्ने भएको हो।
बुधबार नेपालले नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) नाम राख्ने गरी आयोगमा निवेदन दिएका थिए। यस्तै ठाकुरले जसपा लोकतान्त्रिक नाम राख्ने गरी आयोगलाई निवेदन लिएका थिए।
तर, आयोगले पुरानो दलको नाममा मिल्ने गरी कोष्ठ थपेर दल दर्ता गर्न नसकिने बताएको छ। आयोगले यसको जानकारी दल दर्ताको निवेदन दिएका दुवै पक्षलाई गराएको छ। आयोगको सुझाव अनुसार दुवै पक्षले नयाँ नामसहित दल दर्ताका लागि पुनः निवेदन लिनुपर्ने भएको छ।
माधव नेपाल र विजय पौडेलले निर्वाचन आयोग पुगेर यसबारे जानकारी लिएका छन्। अब नेपाल समूहले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) मध्ये एक राखेर दल दर्ताको निवेदन दिने तयारी गरेको बुझिएको छ।
ठाकुर नेतृत्वको जसपा समूहले पनि नयाँ नामबारे छलफल गरिरहेको छ। लोकतान्त्रिक जनता पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टी मध्ये एक नाम राखेर निवेदन दिने तयारी भइरहेको उक्त समूहका एक नेताले जानकारी दिए।
जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुर पक्ष दलबिहीन अवस्थामा थियो। तर, सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो।