शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली समर्थित सांसदहरू सभामुखलाई दबाब दिँदै, नेपाल पक्षीयलाई कारवाही नगरे धर्ना नै बस्ने तयारी

ओली समर्थित सांसदहरू सभामुखलाई दबाब दिँदै, नेपाल पक्षीयलाई कारवाही नगरे धर्ना नै बस्ने तयारी

पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका नेताहरु सभामुखको कार्यालयमा पुगेका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका नेताहरु सभामुखको कार्यालयमा पुगेका छन्। 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिनका लागि उनीहरु सभामुख अग्निप्रसाद सापकोटाकहाँ पुगेका हुन्।   

आज (शुक्रबार) सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर एमाले सांसदहरूले पार्टीको पत्रअनुसार सूचना जारी गर्न सभामुखलाई दबाब दिएका छन्।

सांसदहरू महेश बस्नेत, खगराज अधिकारीलगायत सभामुखको कार्यकक्षमा पुगेका छन्। उनीहरुले कारबाहीको सूचना जारी गर्न ढिलाइ भए धर्ना बस्नेसमेत चेतावनी दिएका छन्। 

आज नै धर्ना नै दिने मनसायले सभामुख भेट्न आइपुगेको सांसद बस्नेतले बताए। ‘सभामुखले अध्ययन र छानबिन गर्छु भनेर बस्ने होइन, कारबाहीको सूचना तत्काल जारी गर्नुपर्छ,’ उनले भने।

हिजो बिहीबार पनि एमालेका केही नेताहरूले सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यालयमा पसेर कारबाहीको सूचना जारी गर्न दबाब दिएका थिए। एमाले संसदीय दलका सचेतक विशाल भट्टराईसहित शान्ता चौधरी, पूर्व गृहमन्त्री खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेतलगायत नेताहरू सभामुख कक्षमा पसेका थिए।

उनीहरूले सभामुखलाई भेट्नुको उद्देश्य त्यही थियो– पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको पत्र संसद् सचिवालयमा पठाएकोमा त्यसको सूचना टाँस गर्न आग्रह गर्नु र नमाने दबाब दिनु। सांसद महेश बस्नेतले सभामुख सापकोटालाई थर्काउने शैलीमा आजै सूचना नटाँसे बल प्रयोगको अवस्था आउने भन्दै चेतावनी दिए। बस्नेतको कडा शैलीपछि सभामुख सापकोटाले कसैको दबाबले निर्णय नलिने बताए। उनले आफू छलफल, परामर्श र अध्ययनमा रहेको बताएका थिए। 

वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन हुने गरी नयाँ दल दर्ता गरेसँगै एमालेमा राजनीतिक तरंग बढेको छ। सरकारले दल विभाजनसम्बन्धी कानुनको थ्रेसहोल्ड अध्यादेशमार्फत २० प्रतिशतमा झारेको छ। उक्त अध्यादेशमार्फत नेता नेपालले पार्टी फुटाउने बुझेपछि गत वैशाख २७ गते ह्विप उल्लंघन गरेको आरोपमा ओलीले नेपालसहित १४ सांसदमाथि कारबाही अघि बढाएका छन्। सोही अनुरुप उनले संसद् सचिवालयमा पत्र पठाएका थिए।

तर, सभामुख सापकोटाले उक्त विषयमा अध्ययन गरिरहेको भन्दै पत्रको कार्यान्वयन गरेका छैनन्। सांसदलाई पदमुक्त गर्न पठाएको पत्रको कार्यान्वयन नगरेको भन्दै ओली पक्ष भने असन्तुष्ट छ। ओलीले सभामुखलाई प्रचण्डको कार्यकर्ता भएको र पद छाडेर माओवादीमा फर्किन चेतावनी दिइरहेका छन्।

बिहीबार नै एक अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो। पहिले टोपबहादुर रायामाझी, लेखराज भट्ट लगायत उहाँहरुलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो। सरिता गिरीलाई निकालिएको छ भन्नेबित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो। अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ? नेकपा एमालेले हटाएका मान्छेहरु नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न? सभामुखको कर्तव्य त्यही हो। ट्रेडिसन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला–पहिल । यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु भन्न पाइन्छ? सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन र फैसला गर्ने होइन।’

ओलीले थपे, ‘कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन भनेर हेर्ने न्यायाधीश होइन सभामुख। निष्काशन गरेको सूचना टाँसिदिने हो। सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पाटीमा सूचना टाँस गर्नेसम्मको काम हो। न्यायाधीश पल्टिने हो र? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो? उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ। अग्नि सापकोटाजीलाई म सोध्न चाहन्छु, संसद चलाउनु छ कि छैन उहाँलाई?’

प्रकाशित: Aug 20, 2021| 12:42 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...