काठमाडौं– नेकपा (एमाले समाजवादी) दर्ताका लागि माधवकुमार नेपाल निर्वाचन आयोगमा परिसरमा पुग्दा उनलाई लामो समय साथ दिएका केही अनुहारहरू त्यहाँ थिएनन्। उनी सीमित नेताहरूको साथमा आयोग पुगेको देखियो। बरु युवा नेतृ रामकुमारी झाँक्रीले नेता नेपाललाई हातमा समातेर साथ दिएको दृश्यले सामाजिक सञ्जालतिर प्रशंसा बटुलिरहेको छ।
एमाले नेतृत्व केपी ओली र उनको पंक्तिको व्यवहारबाट आफूलाई चरम अपमान गरिएको र दलमा विधि– प्रक्रिया मिचिएको भन्दै असन्तुष्ट खेमाको नेतृत्व गर्दै आएका नेता नेपालले नयाँ दल दर्ता गर्ने विकल्प रोज्नु समकालीन राजनीतिको एउटा अर्थपूर्ण परिघटना होला। तर, व्यक्तिगत रूपमा उनका लागि यो बिन्दु एउटा संकटको निर्णायक अवस्था थियो।
यस्तो निर्णायक घडीमा एमालेका लागि उनैले उपाध्यक्ष बन्न/बनाउन पहल गरेका युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्य खुलेर 'आफ्ना नेता'को पक्षमा उभिन सकेनन्। नेता रावलले पार्टी एकता प्रयासको अन्तिम चरणमा नेता नेपालसँग दूरी बढाएका थिए।
केपी ओली सरकारको नेतृत्वमा रहेका बेला सरकार र पार्टी नेतृत्वप्रति आक्रामक नेता रावलले अन्तरसंघर्षको प्रारम्भका बेला नै नयाँ दल खोलेर ओलीविरुद्ध लाग्नुपर्नेसम्मको राय राख्थे। तर कालान्तरमा ‘एकता’ भन्दै नेता नेपालसँगको तय भएको रावलको दूरीलाई एमाले पंक्तिमा एउटा आश्चर्यका रुपमा हेरिएको छ।
त्यसैगरी पार्टी विधि र प्रक्रियामा चल्नुपर्ने भन्दै मत राख्दै आएका युवराज ज्ञवाली पनि नेपालको पक्षमा खुल्न सकेनन्। नयाँ दल दर्ता हुने दिन बुधबारको बिहानसम्म उनले नेता नेपालसँग ‘स्थायी कमिटी बैठक राखेर स्थिति छिनोफानो गर्नुपर्ने’ मत राख्दै आइरहेका थिए। नयाँ दल दर्ता भएपछि उनले आफू अझै पनि एमाले एकताको पक्षमा रहको सन्देश दिन नयाँ दलमा नखुलेको बताए।
‘यहाँ नेताका गल्तीले गर्दा दलले चोट पाउने अवस्था आयो, यो ठिक होइन’, नेता ज्ञवालीले भने, ‘हामी जो नयाँ दलमा खुलेका छैनौँ, हामीबीच सल्लाह हुनेछ। त्यही अनुसार अगाडि बढ्ने छौं।’
आफूलाई सधैँ केपी ओली पक्षले उचित स्थान नदिएको र योगदानको अपमान गरेको भन्दै गुनासो गर्दै आइरहेकी र सधैं नेता नेपालको साथमा रहेकी नेतृ अष्टलक्ष्मी शाक्यका हकमा भने नयाँ दल दर्ताकै दिन ‘ट्विस्ट’ नै देखा पर्यो। यता नयाँ दल दर्ता भयो, उता शाक्यले बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ खाइन्। ‘शाक्य नयाँ दलमा नलागुन् भनेर नै केपी पक्षले यो गेम खेलेको हो। प्रष्ट छ। तर यो जालझेल धेरै टिक्दैन’, नेपाल नजिक एक नेताले बताए, ‘हामी एउटा मूल्यका लागि लडिरहेका छौँ। व्यक्ति प्रभावित पारेर हामीलाई कमजोर बनाउन खोजे पनि यो लडाईं रोकिँदैन।’
एमालेको पछिल्लो महाधिवेशनमा नेपाल पक्षबाट निर्वाचित उपमहासचिव घनश्याम भुसाल तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा सहभागी भएनन्। नेता नेपालमा अनन्य मानिने रघु पन्त पनि अन्तिम समयमा नेपालसँगै उभिन सकेनन्।
‘घनश्याम, गोकर्ण र योगेशले अघिल्लो पार्टी विभाजनले गर्दा आफ्नो राजनीतिक करिअरमा धेरै असर गरेको विश्लेषण गरिरहेका छन्’, एमालेभित्रका एक नेताले भने, ‘यिनीहरु बाहिर जति नै आदर्शका कुरा गरे पनि शक्तिपूजक हुन्। यिनीहरू कुनै पनि बेला केपी ओलीको गोजीमा पुग्न सक्छन्।’
दल दर्ताका बेला नेता नेपालसँग उभिन नसके पनि उनका पक्षका भनिएका अधिकांश नेताहरू अलमलमा रहेका छन्। नेता रावल, भुसाल, विष्ट र बोहोरा सहजै केपी ओली नेतृत्वको एमालेमा रहेर सक्रिय हुने अवस्था पनि छैन। ‘हामी केही साथीहरुले के गर्ने भन्ने सल्लाह गरिरहेका छौं’, नेता विष्टले भने, ‘हामी अहिले पनि पार्टी एकताकै पक्षमा छौं। अहिले नै यसो गर्छौँ भन्ने कुरा पनि छैन।’
माधव नेपाललाई साथ छोडेका अधिकांश नेताहरुले व्यक्तिगत लाभहानीलाई केन्द्रमा राखेर परिस्थितिको लेखाजोखा गरिरहको तथ्य कहीँकतै छिप्दैन। ओली समूहमा आफ्नो कुनै सम्भावना नदेखेका अर्का नेता वामदेव गौतमले बिहीबार मात्रै ओलीलाई सघाएर नहुने मत सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘हामीले समाजवादी एमालेलाई अगाडि बढाउनुपर्छ। ओलीलाई सघाएर केही हुँदैन।’
उता, एमाले नेता प्रदीप ज्ञवालीले भने नयाँ दल दर्ताका बेला नेता नेपाललाई साथ नदिनेहरुसँग निरन्तर कुराकानी भइरहेको दाबी गरेका छन्। उनले नेपाल समयसँग भएको कुराकानीमा, ‘कतिपय साथीहरु मौन बस्नु सकारात्मक रहेको’ बताए। भने, ‘हामी उहाँहरुसँग निरन्तर संवादमा छौं। आशा छ, उहाँहरुले दललाई सघाउनुहुने छ। एमालेभित्र सक्रिय हुनुहुनेछ।’