मंगलबार, असार २४, २०८२

सिके राउत ओलीका मतियार : सोनल

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सरकारसँग हालै सम्झौता गरेका सिके राउतलाई नेकपा अध्यक्ष केपी ओलीको मतियार बताउँछन् । जनमत संग्रहको कुरा गरेर राउतले समर्थकलाई ठग्ने काममात्र गरेको उनको भनाइ छ । सिके राउतको अवतरण र मधेसको राजनीतिमा पर्न सक्ने प्रभावलगायतका विषयमा नेपाल समयका लागि धैर्यकान्त दत्तले मन्त्री सोनलसँग गरेको कुराकानीको सम्पादित अंश-

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सम्झौतालाई राजपाले कसरी लिएको छ?

राजपाले बैठक बसी आफ्नो सार्वजनिक धारणा गर्छ । तर व्यक्तिगत मलाई सोध्ने हो भने नामैदेखि प्रायोजितजस्तो देखिन्छ । नामैको कुरा गरौं न व्यक्ति नाम संस्था सबै प्रायोजित देखिन्छ । स्वतन्त्र मधेस भनेको अतिवादजस्तो देखिन्छ । हामीले के भन्न खोजेको, के गर्न खोजेको र मधेसी जनताको चाहना के हो त्यो कुरा बुझ्नुपर्दछ ।

हामीले के भन्या थियौं भने नेपाल देशभित्र मधेसी जनताको जे पहिचान छ, थिचोमिचोमा पारिएका छन् पहिचानलाई स्थापित गराउँदै अधिकारसम्पन्न स्वायत्ततासहितको मधेस प्रदेश स्थापना गर्ने । अब यो महत्त्वपूर्ण र राजनीतिक कुरा हो । यसलाई गैरराजनीतिक बनाउन मुद्दा डाइभर्ट गर्न कुनै एउटा शक्तिले कुनै एउटा व्यक्तिलाई प्लान्ट गर्छ । राम्रो कुरामा भाँडभैलो मच्चाउन अस्तित्व समाप्त पार्न कुनै व्यक्ति प्लान्ट गरिन्छ । मधेसलाई अधिकारसम्पन्न बनाउने जायज कुराको विरुद्ध स्वतन्त्र मधेसको कुरा गरियो, यो आफैमा प्लान्टेड विषय हो ।

त्यसो भए मधेस आन्दोलनविरुद्ध सिके राउत परिचालित भएका थिए भन्न खोज्नुभएको हो ?

एकदम । दुनियाँमा यस्तै देखिएको छ । कुनै पनि शान्तिपूर्ण आन्दोलनलाई समाप्त पार्नु छ भने आफ्नै मान्छे लगाएर खलबल मचाएर दमन गर्ने काम भएको छ । अधिकार र पहिचानको लागि मधेस आन्दोलन अगाडि बढिरहेका बेला खत्तम बनाउन एउटा अतिवादको कुरा ल्याइदिऊँ । र, त्यो अतिवादी मानिसले के गर्छ भने वास्तविक मुद्दालाई अन्यत्र मोड्ने काम गर्दछ । मुद्दा डाइभर्ट भइसकेका बेला सप्रेस गर्न सजिलो हुन्छ । त्यसको प्रमुख पात्र तथा मतियार बनेर सिके राउत र उनको संगठन स्थापित भयो ।

सिके राउतलाई कसले प्लान्ट गरेको हो ?

यस विषयमा धेरै कुरा निकट भविष्यमै खुल्दै जान्छ । तर तत्कालीन एमाले र अहिलेको नेकपाको नेतृत्वबाट यसको लिंकेज भयो । किनभने उहाँहरु पनि एउटा प्लान्टेड शक्ति हुनुहुन्छ । कुनै शक्तिबाट प्लान्टेड भएर उहाँहरुको जन्म भएको सर्वविदित छ । सबै ट्रेन्ड उहाँहरुलाई थाहा छ । उहाँहरुलाई के लाग्यो भने कसैलाई प्लान्ट गरेर मधेस आन्दोलन समाप्त गरिदिँदा ठिक हुन्छ कि । त्यसैले उहाँहरुले यस्तो गर्नुभएको हो ।

सिके र सरकारबीच अचानक सम्झौता हुँदा तपाईंलाई आश्चर्य लागेन ?

वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख छ । शक्ति सन्तुलनका आधारमा राज्य सञ्चालन हुनुपर्दछ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुपर्दछ । तर अहिले शक्ति सन्तुलनको सिद्धान्तलार्ई निस्तेज पारेर एउटै पार्टी, एउटै पार्टी र एउटै चरित्र भएको व्यक्तिलाई स्थापित गर्न खोजिँदैछ । यहाँ के देखियो भने न्यायालयदेखि सबै कुराको सेटिङ गरेर अचानक सम्झौता गरियो । यो कुरा मैले मात्र होइन काठमाडौंका बुद्धिजीवीले पनि भनिरहनुभएको छ । न्यायालय सेटिङको प्रतिफल सिके राउत हुनुहुन्छ ।

सिके राउतजी जानी नजानी वा जानेरै अहिलेको कम्युनिस्ट सर्वसत्तावादको मतियार बन्नुभएको छ । मलाई लाग्छ, बिस्तारै उहाँले पनि थाहा पाउनुहुनेछ । यसले मुद्दा पनि कमजोर भयो सेरेन्डर गरेर सिके राउतले मधेसलाई लज्जाबोध गराउनुभएको छ । उहाँले उठाउनुभएको कुरा मुद्दै होइन । प्लान्टेड शक्ति र प्लान्टेड व्यक्तिका रुपमा आफूलाई अगाडि बढाउनुभयो । ढिलोचाँडो पक्कै पनि उहाँलाई अनुभूति हुनेछ । सरकारसँग भएको सहमतिको कुनै तुक छैन ।

सहमतिको एउटामात्र सकारात्मक कुरा केहो भने राउतजीलाई संसदीय राजनीतिको विकल्प छैन भन्ने कुराको ज्ञान ढिलै भए पनि भएको छ । मूलधारको राजनीतिमा आउनुभएको छ त्यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु । यसअघि उहाँले गर्नुभएको ढोंग पनि सकिएको छ । समयमै सबै जनताले वास्तविक स्थिति बुझ्न पाए ।

सिके राउतसँग सहमति गरेर सरकारले 'स्वतन्त्र मधेस' लाई मान्यता दियो हैन ?

मैले भनें नि स्वतन्त्र मधेस शब्द नै मधेसी अधिकारका लागि लडिरहेको शक्तिलाई निस्तेज पार्ने रणनीतिका रुपमा आएको हो । जो यसको प्रतिपादक थियो, जसले यसलाई उत्पादन गरे उसैले यसलाई चपायो ।

हाम्रो संविधानअनुसार स्वतन्त्र मधेस भनिएझैं स्वतन्त्र कर्णाली, स्वतन्त्र गण्डकी भन्न मिल्छ ?

यो सर्वाधिक अराजनीतिक कुरा हो । यस्ता कुरा कुनै पनि हालतमा भन्न मिल्दैन ।

त्यसो भए राष्ट्रवादको चर्को नारा दिने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई के भन्नुहुन्छ ?

केपी ओली पहिले पनि राष्ट्रवादी हुनुहुन्थेन र अहिले पनि हुनुहुन्न । हामी सबैले उहाँलाई चिनेका छौं । संयोगले उहाँ एउटा शक्तिशाली पार्टीको अध्यक्ष भएर प्रधानमन्त्रीका रुपमा स्थापित हुनुभएको छ । राष्ट्रियता र जनताका पक्षमा कुनै बेला लड्नुभएको थियो होला । कसले लडायो किन लडायो हामी सबैले पढेका छौं । कसरी राजा महेन्द्रले कम्युनिस्ट पार्टीलाई दरबारबाटै सञ्चालन गरेर फन्डिङ गरेर स्थापित गराए, केका लागि स्थापित गराए, कसरी झापा काण्डको प्रादूर्भाव भयो यी सबै कुराको इतिहास साक्षी छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रजस्तो परिवर्तन केपी ओलीजी र उहाँको पार्टीलाई डाइजेस्ट भइरहेको थिएन । त्यसैलाई असफल बनाउन विभिन्नखाले रणनीतिक षड्यन्त्र हुँदै गए । त्यही रणनीतिक षड्यन्त्रको एउटा पाटो राष्ट्रियताको नारा हो । हामी आन्दोलन गरिरहँदा 'बयलगाडा चढेर अमेरिका पुग्न सकिन्न, संघीयता कुनै हालतमा यो मुलुकलाई सुहाउँदैन' जस्ता अभिव्यक्ति दिने मानिस हुनुहुन्छ ओलीजी । मधेसलाई गाली गरेर आफूलाई राष्ट्रवादी देखाउने कुरा धेरै दिन चल्दैन, जनताले सबै कुरा बुझिसकेका छन् ।

सिके राउत र उनका कार्यकर्ताले भनिरहेझैं जनमतसंग्रह सम्भव छ जस्तो लाग्छ ?

जनमतसंग्रहको 'ज' पनि उल्लेख छैन सम्झौतामा । सिके राउतको वक्तव्य सुन्नुभएन ? के भन्नु भएको थियो, उहाँले । उहाँले 'म नेपाल देशको सबै कुरा स्वीकार गर्छु, अखण्ड नेपाललाई स्वीकार गर्छु, विधि प्रक्रियालाई स्वीकार गर्छु' भन्नुभएको थियो । कुन ठाउँमा जनमत संग्रहको कुरा लेखिएको छ ? भाषालाई जेरीजस्तो घुमाउरो बनाएर जनतालाई ठग्न पाइन्छ ? कुन बुँदामा लेखिएको छ जनमत संग्रह भनेर सिके राउत डिबेट गर्नुस् त । जनअभिमत भनेको जनमत संग्रह हो भने सहमतिपत्रमा लेख्नुपर्दथ्यो नि ? किन लेखिएन ? कुन विषयमा जनमतसंग्रह गर्ने ? जनमतसंग्रहको कुरा गरेर राउतजीले जनतालाई ठग्ने र आफ्नो फेससेभिङ गर्ने काममात्र गर्नुभएको छ ।

सिके राउतलाई मूलधारमा ल्याउन सरकारले बढी स्पेस दिएजस्तो लाग्दैन तपाईंलाई ?

ओलीजीलाई लाग्यो सिके राउतलाई ल्याएर स्थापित मधेस केन्द्रित पार्टीको समानान्तर शक्ति खडा गर्न सकिन्छ । उहाँले त राउतजीलाई मन्त्रिपरिषद्मै ल्याउने कुरा गर्नुभएको छ । मन्त्रिपरिषद्मै ल्यानुपर्ने भए तत्काल नेकपाको सदस्यता दिए भइहाल्यो नि । उहाँहरुसँग धेरै मधेसी नेताहरु हुनुहुन्छ । त्यसमा एकजना सिके राउत पनि थपिनुहुन्छ । स्वतन्त्र मधेसको ढोंग किन गर्नुपर्‍यो ।

सिके राउतको अवतरणले मधेसको राजनीतिमा राजपालाई के कति असर पार्न सक्छ ?

राजपा कुनै हावामा आएको पार्टी होइन जसलाई कोही आउनेबित्तिकै असर हुन्छ । मधेसी जनताको चाहना र भावनाबाट राजपा बनेको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्ने पार्टी हो । कुनै एउटा व्यक्ति आउँदैमा राजपालाई कुनै असर पर्नेछैन ।  
    
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...