काठमाडौं- नेकपा एमाले उपाध्यक्ष एवं वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन्।
बुधबार बेलुकी वागमतीको मुख्यमन्त्रीको शपथ लिइसकेपछि शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन्।
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेकी हुन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री शाक्यले नै राखेकी छन्।
योसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन्। यसअघिका एमाले बागमती संसदीय दलका नेता डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो।
शाक्य यसअघि माधवकुमार नेपाल पक्षमा थिइन्। नेपालले नयाँ दल गठन गर्ने तयारी गरेपछि नेपाल पक्षकी नेता शाक्यलाई मुख्यमन्त्री बनाएर ओली पक्षले ट्विस्ट गराएको हो।
को हुन् शाक्य
अष्टलक्ष्मी शाक्यको जन्म काठमाडौं झोछेँस्थित सम्पन्न परिवारमा २०१० सालको महाअष्टमीका दिन भएको हो। उनी कुलमाया शाक्य र तीर्थमान शाक्यकी माहिली छोरी हुन्। महाअष्टमीको दिन जन्मेका कारण उनको नाम अष्ट राखिएको थियो।
भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री शाक्यले नै राखेकी छन्।
२०३६ सालदेखि भूमिगत भएकी उनी ४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि मात्र सार्वजनिक भएकी थिइन्। सामाजिक कार्यमा सहभागी भएर चेतना फैलाउँदै हिँडेकी शाक्य सीपी मैनाली, मदन भण्डारी, झलनाथ खनाल, माधव नेपाल आबद्ध तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेपछि पूर्णकालीन राजनीतिमा लागेकी हुन्। भूमिगत कालमा उनी देशका विभिन्न ठाउँमा भ्रमण गरी पञ्चायत विरोधी गतिविधिमा संलग्न भइन्। यसै क्रममा उनी मेची अञ्चलकै महिला संघको अध्यक्ष भइन्। भूमिगत भएकै बेला पार्टीका नेता अमृत बोहोरासँग उनको विवाह भएको थियो।
महिला संघको कार्यक्रम गर्दा इलाममा जेल परेकी थिइन् भने २०४५ सालमा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला पक्राउ परेकी थिइन्। त्यति बेला उनलाई प्रहरीले निकै यातना दिएको थियो। उनलाई अनेमसंघको २०४६ जेठ ३०-३१ मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले अध्यक्षमा चयन गरेको थियो।
शाक्य दुई पटक राष्ट्रियसभा सदस्य भइन्। २०५६ मा प्रतिनिधिसभा सदस्यमा काठमाडौं-६ बाट विजयी भएकी उनी एक पटक महिला बालबालिका र एक पटक उद्योग बनेकी थिइन्।
पार्टीको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी शाक्य नवौँ महाधिवेशनबाट उपाध्यक्ष भइन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी वामगठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।