भैरहवा – भैरहवामा सम्पन्न प्रदेश स्तरीय क्रिकेटको उपाधी रुपन्देहीले जितेकोछ। भैरहवास्थित सिद्धार्थ अन्तराष्ट्रिय रंगसालामा सम्पन्न टी–२० खेलमा रुपन्देहीले बाकेलाई ५३ रनले पराजित गर्दै उपाधी कब्जा गरेको हो।
निर्धारीत २० ओभरको खेलमा रुपन्देहीले ८ विकेट गुमाउँदै बाकेलाई ११० को रन लक्ष्य दिएको थियो। प्रतिउत्तरमा बाकेले १६ ओभरमा सबै विकेट गुमाउदैं जम्मा ५७ रन मात्रै बनाउन सफल भयो।
ब्याटिङमा रुपन्देहीका लागि सुरज दरईले ४०, बिशाल खत्रीले २७ रन बनाएका थिए। बाकेको लागि सुविन्द पाण्डेले २८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन्। बलिङमा बाँकेका नासिर अन्सारी र सिद्धान्तराज साहीले समान ३/३ तथा अजय साहनीले २ विकेट लिए। रुपन्देहीका अजय लोनियाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा एक मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए। उनी म्यान अफ दी म्याच समेत घोषित भए। यस्तै, विक्रम भुसाल र रुपेश कुर्मीले समान २÷२ विकेट लिए।
यस्तै तेस्रो स्थानका लागि भएको खेलमा पाल्पाले नवलपरासीलाई ३० रनले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको पाल्पाले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाई १२२ रन बनायो। उसका लागि सागर थापा क्षेत्रीले ४५, रुपेश बश्यालले २२ रन बनाए। बलिङमा नवलपरासीका दिलीप कुर्मी, जितेन्द्र साहनी र इखलाक अहम्मदले समान २/२ विकेट लिए। प्रतिउत्तरमा नवलपरासीले १९.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनायो। जसमा इखलाक अहम्मदले नटआउट २२, अपर्ण लोनियाले १७ रन बनाए। बलिङमा पाल्पाका रुपेश बश्यालले ३, मोहन भुसाल र सागर थापाले समान २/२ विकेट लिए। सागर थापा म्यान अफ दी म्याच घोषित भए।
विजयी खेलाडीहरुलाई प्रादेशिक खेलाडी छनोट समिति संयोजक बसन्त जीआर, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापा, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, सदस्य विनय ज्ञवाली लगायतले प्रमाणपत्र तथा मेडल प्रदान गरे।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट चैतमा हुने आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तर जिल्लाबीच खेल भएको हो। अब राखेपले तोकेका पाँच सदस्यीय छनोट समितिले आइतबार उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेश स्तरीय टिम बनाउनेछन् । उक्त टिम प्रदेशको प्रतिनिधित्व गर्दै आठौंमा सहभागी हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४