काठमाडौं– नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन्। बुधबार एमाले संसदीय दलकी नेता बनेकी शाक्यलाई साँझ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाएको हो।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेकी शाक्यलाई ओली समूहले नेता नेपालले दल दर्ताका लागि निवदेन दिएपछि बागमती प्रदेशको संसदीय दलको नेता चयन गरेको थियो। नेपालले नयाँ दल गठन गर्ने तयारी गरेपछि शाक्यलाई मुख्यमन्त्री बनाएर एमाले अध्यक्ष ओली पक्षले ट्विस्ट गराएको हो।
अष्टलक्ष्मी शाक्यको जन्म काठमाडौं झोछेँस्थित सम्पन्न परिवारमा २०१० सालको महाअष्टमीका दिन भएको हो। उनी कुलमाया शाक्य र तीर्थमान शाक्यकी माहिली छोरी हुन्। महाअष्टमीको दिन जन्मेका कारण उनको नाम अष्ट राखिएको थियो।
सामाजिक कार्यमा सहभागी भएर चेतना फैलाउँदै हिँडेकी शाक्य सीपी मैनाली, मदन भण्डारी, झलनाथ खनाल, माधव नेपाल आबद्ध तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेपछि पूर्णकालीन राजनीतिमा लागेकी हुन्।
कान्ति ईश्वरी विद्यालयबाट एसएलसी पास गरेपछि उनी चिनियाँ भाषा सिक्न थालिन्। सोही बेलादेखि उनमा राजनीतिक चेतना जागृत भएको थियो। सुन व्यापारी परिवारमा जन्मिएकाले उनलाई परिवारमा कुनै दुःख थिएन। परिवार सम्पन्न भए पनि छोराछोरीबीच हुने विभेदले उनलाई सानैमा सताएको थियो। अभिभावकले विवाह गर्न खोज्दा विद्रोह गरेकी शाक्य बिहे नै नगरी पञ्चायविरोधी राजनीतिमा संलग्न भएकी थिइन्।
२०३६ सालदेखि भूमिगत भएकी उनी ४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि मात्र सार्वजनिक भएकी थिइन्। सामाजिक कार्यमा सहभागी भएर चेतना फैलाउँदै हिँडेकी शाक्य सीपी मैनाली, मदन भण्डारी, झलनाथ खनाल, माधव नेपाल आबद्ध तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेपछि पूर्णकालीन राजनीतिमा लागेकी हुन्। भूमिगत कालमा उनी देशका विभिन्न ठाउँमा भ्रमण गरी पञ्चायत विरोधी गतिविधिमा संलग्न भइन्। यसै क्रममा उनी मेची अञ्चलकै महिला संघको अध्यक्ष भइन्। भूमिगत भएकै बेला पार्टीका नेता अमृत बोहोरासँग उनको विवाह भएको थियो।
महिला संघको कार्यक्रम गर्दा इलाममा जेल परेकी थिइन् भने २०४५ सालमा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला पक्राउ परेकी थिइन्। त्यति बेला उनलाई प्रहरीले निकै यातना दिएको थियो। उनलाई अनेमसंघको २०४६ जेठ ३०-३१ मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले अध्यक्षमा चयन गरेको थियो।
शाक्य दुई पटक राष्ट्रियसभा सदस्य भइन्। २०५६ मा प्रतिनिधिसभा सदस्यमा काठमाडौं-६ बाट विजयी भएकी उनी एक पटक महिला बालबालिका र एक पटक उद्योग बनेकी थिइन्।