०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला।
एकाबिहानै कसैले ढोका ढकढक्यायो। बाहिरबाट कोही छोरी मान्छे बोलिरहेको आवाज सुनियो। को आएछ त एकाबिहानै? आँखा मिच्दैमिच्दै तारा ओछ्यानबाट उठिन्। जब ढोका खोल्न गइन्, बाहिरको अवस्था देखेर उनी एक्कासी आत्तिइन्।
'के भयो, के भयो?'
बाहिर हातमा हतियार बोकेका ३०–४० जना सेना र प्रहरीको जत्थाले पूरै घर घेरेको थियो। कसैलाई नसोधी उनीहरू घरभित्र पसे। सामान जथाभावी छरपस्ट पार्दै, डस्ना पल्टाउँदै कोठाको कुना–कुना खोज्न थाले।
तर, कहीँ भेटेनन्। त्यसपछि सेनाले तारालाई कुखुराको खोरपट्टी, प्रमिलालाई घरभित्रै कोठामा लिएर गए। अनि, बारम्बर एउटै प्रश्न गरे- 'गन खोइ?'
दुवैले 'थाहा छैन' भनिरहे।
तर, उनीहरूले पत्याएनन्। 'हामीलाई थाहा भइसक्यो, तिम्रा श्रीमानले चोरेर यहीँ ल्याएको स्वीकारिसक्यो,' अनेक 'फर्मुला' अपनाउँदै उनीहरूले पटकपटक त्यही प्रश्न गरिरहे– 'छिटो भन्, गन खोइ?'
०००
हामी अहिले शृंखलाको पाँचौ भागमा छौँ। यो त्यही १००७९२ नम्बरको एसएमजी 'गन'को प्रसंग हो, जसलाई खोज्दै नेपाली सेना र प्रहरीको टोली त्यतिबेला सैनिक अमल्दार लबकुमार गुरुङ जेठीसासू ताराको घरमा गएको थियो।
यो त्यही दिन हो, जहाँबाट सैनिक अमल्दार लबकुमार गुरुङको परिवारले भोगेको चरम यातनाको कथा पनि सुरु हुन्छ। हामीले शृंखलाको पहिलो भागमा नै लेखिसकेका छौँ- साढे दुई वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको यो गन साढे दुई वर्षपछि बहालबाला सैनिक गंगाधर ढकालको साथमा भेटियो। ढकालले गत ७ साउनमा आफ्नै साथी नेपाली सेनाका हुद्दा भरत गुरुङलाई चितवनमा यही गनले गोली हानी हत्या गरेका थिए।
'गन कहाँबाट ल्याइस्?' भन्ने प्रश्नमा प्रहरीसँगको बयानमा उनले साढे दुई वर्षअघि कालीबहादुर गणको स्टोरबाट चोरी गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले बताइसकेका छन्। ढकालविरुद्ध प्रहरीले मंगलबार मात्रै ज्यानसम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
'मैले श्रीमानलाई सोध्न खोजेँ तर केही बोल्न दिइएन,' प्रमिला त्यो दिन निकै आत्तिएकी थिइन्। त्यसपछि करिब दुई हप्तासम्म लबकुमार घर आएनन्। रातको समय दुईपटक जति फोन आयो तर केही भनेनन्। बस्, यति मात्रै भने, 'तालिमले गर्दा आउन पाइनँ।'
तर, सैनिक मुख्यालयबाट माग भएपछि जिल्ला अदालतले मंगलबार नै अदालतले ढकालको मिसिल सैनिक अदालत पठाइदिएको छ। हराएको सेनाको हतियार र वहालवाला सैनिकसँग जोडिएको मुद्दा भएका कारण सेनाले आफ्नै अदालतबाट फैसला गर्ने भएको हो।
जुन 'गन' ढकालको साथमा भेटियो, त्यही 'गन' चोरी गरेको अभियोगमा कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उदयपुर, गाइघाटका सैनिक अमल्दार लबकुमार गुरुङ र मोरङ सुन्दरहरैँचाका सरोज तामाङलाई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी ७ वर्षको कैद सजाय सुनाइयो। त्यतिबेला सैनिक अदालतका अध्यक्ष सहायक रथी, सहदेव खड्का थिए। लबकुमार र सरोज अहिले पनि जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।
हामीले यसअघि शृंखलाको दोश्रो भागमा कारागारमै रहेका सरोज तामाङसँगको कुराकानी प्रकाशित गरेका थियौँ, जहाँ उनले आफूहरूलाई सैनिक हिरासतमा चार महिना चरम यातना दिइएपछि जबर्जस्ती हतियार चोरेको कबुल गर्न लगाएको बताएका थिए।
तेश्रो शृंखलामा हतियार अर्कैले चोरेको भेटिएपछि पक्कै न्याय पाइएला भन्ने आशामा चितवन आइपुगेको सरोजको परिवारसँग कुराकानी गरी सामग्री प्रकाशन गरेका थियौँ। आफू तीन महिनाको सुत्केरी भएका बेला सेनाले आफ्नो श्रीमानलाई फसाएको कथा सरोजकी पत्नी उर्मिला मगरले नेपाल समयसँग सुनाएकी थिइन्।
यो पटक लबकुमारले भोगेको यातनाको कथा छ। नेपाली सेना लबकुमारकी श्रीमती प्रमिला र जेठीसासू ताराको घरसम्म पुग्ने अवस्थामा किन पुग्यो! आउनुस्, पुस ६ गतेबाटै यो कथा सुरु गरौँ।
०००
पुस ६। त्यसदिन चितवनस्थित भरतपुर विमानस्थल नजिकै रहेको कटहर चोकको आफ्नै डेरामा बसिरहेकी थिइन्, प्रमिला। प्रमिलाका श्रीमान् लबकुमार सधैँ बिहानै ड्युटीमा निस्कन्थे र साँझको ७ बजेसम्म डेरामा आइपुग्थे। तर, तीन दिनयता उनी डेरा आएका थिएनन्। गणमा फोन गर्दा जवाफ आउँथ्यो- तालिममा गएको छ, नआत्तिनू।
तर, एक्कासी पुस ६ गते कोठामा टोलाएर बसिरहेका बेला बाहिरबाट कसैले प्रमिलाको कोठाको ढोका ढक्ढक्यायो। दिउँसै थियो, ढोका खोलेपछि बाहिर श्रीमानको अनुहार देखिन्। तर, त्यसदिन उनी एक्लै थिएनन्, उनीसँगै थिए सेनाका तीन जना बर्दीधारी सिपाही र 'हाकिम'।
कोठाभित्र छिरेपछि एक्कासी उनीहरूले खानतलासी सुरु गरे। प्रमिलाले सोधिरहिन्, 'के भयो? के खोज्नुभएको?' उनीहरूकी साढे तीन वर्षकी छोरी थिइन्। छोरीको खेलौनादेखि ओछ्यानसम्म सबै छरपस्ट पार्दै उनीहरूले 'चेक' गरिरहे। छेउमा रहेका श्रीमान् लबकुमार केही बोलिरहेका थिएनन्, अनुहार अँध्यारो थियो। खानतलासी गरिरहेकै एक सेनाले जवाफ दिए, 'केही होइन नानी, सानो कागज हराएको छ, त्यही खोजेको।'
लबकुमारको तलब नै प्रमिलाको एक मात्र गुजाराको सहारा थियो। तर, त्यही तलब पनि आएन। घरबेटीको भाडा तिर्न सक्ने अवस्था पनि भएन। त्यसपछि प्रमिलाले उदयपुर नै जाने निधो गरिन्। तर, सेनाको अनुमतिबिना जान सम्भव थिएन।
'मैले श्रीमानलाई सोध्न खोजेँ तर केही बोल्न दिइएन,' प्रमिला त्यो दिन निकै आत्तिएकी थिइन्। त्यसपछि करिब दुई हप्तासम्म लबकुमार घर आएनन्। रातको समय दुईपटक जति फोन आयो तर केही भनेनन्। बस्, यति मात्रै भने, 'तालिमले गर्दा आउन पाइनँ।'
एकैपटक पुस १९ गते उनी कोठा आइपुगे। निकै तनावमा थिए। आउनेबित्तिकै प्रमिलालाई सुनाए, 'ब्यारेकमा एउटा गन हराएको छ। हामी १५-१६ जनालाई 'गन खोइ' भन्दै पानीले पिट्दै केरकार गरिरहेको छ। भाग्यो भने पनि मलाई दोषी देखाउँछ। म के गरुँ, तनावमा छु।'
भोलिपल्ट बिहानै ८ बजेसम्म ब्यारेक छिर्नुपर्ने आदेश थियो। प्रमिलाका अनुसार उनी त्यसदिन रातभर सुतेनन्। बिहान हुनेबित्तिकै प्रमिलाले खाना पकाइन्। लबकुमारले खाना खाए। त्यसपछि ब्यारेक हाजिर हुने बेलामा लबकुमार निकै डराएका थिए। कोठाबाट निस्कदै गर्दा प्रमिलालाई भनेका थिए, 'म आएँ भने आइहालेँ, नत्र हेटौँडा कार्यालयमा गएर रिट हाल्नू। मेरो बुढोलाई यसरी आरोप लगाएर कारबाही हुँदैछ भनेर निवेदन दिनू।'
प्रमिलालाई आशा थियो, पक्कै डेरा फर्किन्छन्। तर, त्यसपछि महिनौँसम्म खाना खुवाउनु त परको कुरा उनले श्रीमानको अनुहार देख्नसम्म पाइनन्। 'त्यसपछि मलाई राति–राति मेजरलगायत हाकिमको फोन आउँथ्यो। तीनपटक जति अफिस लिएर नै पनि जानुभयो,'प्रमिला भन्छिन्, 'हाम्रो लास्ट कल २ मिनेटसम्म भएको रहेछ, त्यतिन्जेल के बोल्यौँ भनेर मलाई धेरैपल्ट सोधपुछ गरिरहुनुभयो।'
एक वर्ष शान्ति सेनाका लागि कंगो गएर ६ महिनाअघि मात्रै लबकुमार नेपाल फर्किएका थिए। अनुसन्धानका क्रममा सेनाले प्रमिलासँग पटकपटक सोधिरह्यो- 'शान्ति सेनाबाट ल्याएको पैसा के गर्यौ?'
श्रीमान् घर नफर्किएपछि प्रमिला स्वयम् डराइसकेकी थिइन्। श्रीमानलाई भेट्न पाइन्छ कि भन्ने आशामा गणको १ नम्बर गेटमा पुग्थिन्, तर भेट्न नदिई फर्काइन्थ्यो। त्यसपछि आत्तिएकी उनले पुस ९ गते उदयपुरमा रहेकी दिदी तारालाई चितवन बोलाइन्।
तारा चितवन आउनुलाई पनि सेनाले हराएको 'गन'सँग जोडेर हेर्न थाल्यो। किन आई तेरी जेठी सासू? 'टर्चर' सुरु भयो। 'दिदीले आत्तिएर पैसाको कारोबारले भन्दिनुभयो। त्यसपछि त झन् टर्चर दिन थालियो,' प्रमिलाले सुनाइन्। त्यसको केही दिनपछि तारा घर फर्किइन्।
लबकुमारको तलब नै प्रमिलाको एक मात्र गुजाराको सहारा थियो। तर, त्यही तलब पनि आएन। घरबेटीको भाडा तिर्न सक्ने अवस्था पनि भएन। त्यसपछि प्रमिलाले उदयपुर नै जाने निधो गरिन्। तर, सेनाको अनुमतिबिना जान सम्भव थिएन।
जब सेनालाई सोधिन्, सुरुमा अनुमति दिइएन। उनी जहाँ बस्थिन्, त्यहाँको घरबेटी पनि भूपु सैनिक थिए। उनैले सेनासँग अनुरोध गरे, 'नानीसँग खर्च छैन, भाँडा तिर्न सक्ने पैसा पनि छैन, जान दिऔँ?'
'सेनाबाट 'हुन्छ, जाऊ' भन्ने जवाफ आएपछि मात्रै उदयपुर घर गएकी थिएँ,' प्रमिलाले सुनाइन्।
हिरासतमा राखेको दोस्रो दिन उनलाई लबकुमारसँग भेट गराइयो। हातमा हतकडी। कपाल पूरै फोहोर। आँखाको परेलामाथि टाँका। जिउभरि पिटाइको नीलडाम। पाकेका घाउ। श्रीमानलाई यस्तो हालतमा देख्नेबित्तिकै रोइन् प्रमिला।
उदयपुर पुगेको भोलिपल्टै अचानक प्रमिलालाई गणबाट लबकुमारको फोन आएको थियो। तर, फोनमा उनले धेरै केही बोलेनन्, मात्रै एक वाक्य बोले, 'तिम्रो बुढोले गल्ती गरेकै हो, गन चोरेकै हो। चोरेर इटहरीको एउटा भाइलाई दिएकै हो।'
यत्ति बोलेरै फोन काटियो। 'त्यसपछि मलाई केही गडबढ महसुस भयो। मेरो श्रीमान् फसाउन खोजेको जस्तो लाग्यो,' प्रमिला भन्छिन्।
उदयपुर आएपछि के भयो? अब सुरु हुन्छ, त्यही समयमा लबको परिवारले भोगेको यातनाको कथा।
०००
माघ २६ गते सेना र प्रहरीको जत्थाले घर घेरिसक्दा पनि तारा र प्रमिलाले आफूलाई हतियारबारे केही थाहा नभएको त्यही बयान दोर्याइरहे। त्यसपछि 'तिमीहरूले नभन्ने नै हो, अब तिमीहरूलाई जेल लिएर जान्छौँ,' भ्यानमा हालेर जिल्ला प्रहरी कार्यलय उदयपुरतिर लगियो।
दुवै जनालाई २५ दिनसम्म हिरासतमा राखियो। चितवन कालीबहादुर गणबाट समेत छानबिनमा खटिएका मेजर दीपेन्द्र श्रेष्ठ, क्याप्टेन गणेश भट्टराईलगायतको टोली आएको थियो। टोलीसँगै हतकडी लगाएर लबकुमारलाई पनि ल्याइएको थियो। तर, लबकुमारलाई नजिकै रहेको सेनाको ब्यारेकभित्र हिरासतमा राखियो भने यता प्रमिला र तारालाई प्रहरी कार्यालयको हिरासतभित्र।
'तिमीहरू सबै मिलेर गन ल्याएको हो, तिम्रो बुढाले सबै स्वीकारिसक्यो, थपक्क सामान देउ, तिम्रो बुढाको जागिर पनि जोगिन्छ,' प्रमिलाका अनुसार बयानका क्रममा उनलाई यस्तै भनेर 'टर्चर' दिन थालियो।
दिदी–बहिनी दुवैलाई पालैपालो बेग्लाबेग्लै राखेर बयान लिइन्थ्यो। हिरासतमा राखेको दोस्रो दिन उनलाई लबकुमारसँग भेट गराइयो। हातमा हतकडी। कपाल पूरै फोहोर। आँखाको परेलामाथि टाँका। जिउभरि पिटाइको नीलडाम। पाकेका घाउ। श्रीमानलाई यस्तो हालतमा देख्नेबित्तिकै रोइन् प्रमिला।
'जो आएपनि म निर्दोष छु, मैले केही गरेको छैन मात्रै भनिरहनुभयो,' प्रमिला सम्झिन्छिन्, 'तिमी त बूढी हो, तिमीले भन्दा पक्कै कुरा खोल्न सक्छ भनेर हतियार कहाँ लुकाएको छ भनेर सोध्न लगाइएको थियो। मैले दिउँसोको ३ बजेसम्म उनीहरूले जसरी सोध्ने भने, त्यसरी सोधिरहेँ, तर केही बोल्नुभएन। म निर्दोष छु मात्रै भनिरहनुभयो।'
प्रमिलाका अनुसार आर्मीहरू नजिकै आउँदा उनी डराउँथे, बाघ आएजस्तो भाव प्रस्तुत गर्थे। हो, मैले गरेको हुँ, गन चोरेर यिनिहरूलाई दिएको हुँ भन्दै प्रमिला र तारातिर देखाउँथे। तर, जब प्रहरीका एसपी आउँथे, त्यतिबेला निर्धक्क बोल्थे, 'सर, मैले केही गरेको छैन। मैले पिटाइ सहन नसकेर कबुल गरेको हुँ।'
हिरासतमा पाएको यातनाले गलिसकेका थिए, लबकुमार। त्यतिबेला हातखुट्टा दुवैतिर हतकडी लगाएर, अनुहारमा पट्टी लगाएर मरणासन्न हुने गरी पिटेर मानसिक रूपमै कमजोर बनाएको, चोरी कबुल गर्न बाध्य हाल कारागारमा रहेका सैनिक सरोज तामाङले हामीसँग भनिसकेका छन्। त्यही कुरा लबकुमारले उनकी श्रीमती प्रमिलासँग भनेका छन्।
'पानी खान दिँदैनथे। बिहानदेखि बेलुकासम्म, बेलुकादेखि बिहानसम्म एउटै कोठामा राख्थे। म त मर्न तयार भइसकेकी थिएँ। खास राणा शासन त आर्मीमा रहेछ, मलाई त्यतिबेला महसुस भयो,' त्यो सम्झँदा आज पनि प्रमिला भक्कानिन्छिन्।
यातनाबाट तर्सिएका लबकुमारले प्रहरी कार्यलयमै तारा र प्रमिलालाई अनुरोध गरे, 'अब तिमीहरू दुई जनामा एक जनालाई पनि यिनीहरूले छाड्दैनन्। त्यसैले मलाई हतियार दिएको थियो, मैले ल्याएर भाइ टाइचनलाई दिएँ भन्नू। नत्र त मलाई पनि मार्छन्, तिमीहरूलाई पनि अप्ठेरो पार्छन्।'
यो सुनेर प्रमिला रोइन्। 'मेरो बुढोका लागि म कबुल गर्छु। दिदी, छोरी तैले हेर्दे है' भन्दै प्रमिला रुन थालिन्।
त्यसपछि उनलाई बाहिर लगियो। तारा मात्रै भित्र रहिन्। 'एकातिर बहिनीको आँखामा आँसु, उता ज्वाइँले मलाई बचाइदिनुस्, नत्र सियोर मार्छन् यिनीहरूले, मेरो बूढी छोरी पाल्दिनू भन्न थाल्नुभयो,' हामीसँगको भेटमा तारा रुँदै सम्झिन्छिन्, 'त्यसपछि मैले यति कबुल गर्दा ज्वाइँको जीवन बच्छ, सबै राम्रो हुन्छ भने भन्दिन्छु भनेर भन्दिएँ।'
तर, जब कबुल गरिन्, परिणाम उनले सोचेजस्तो भएन। उता इटहरीमा उनीहरूलाई पक्राउ गरिनुभन्दा अघिल्लो दिन लबकुमारको भाइ टाइचन भनिने पवन गुरुङलाई पनि पक्राउ गरेर त्यसै गरी यातना दिइएको रहेछ। यता कबुल गरेपछि तारालाई दिइएको यातना कम दर्दनाक छैन।
'बिहानै ६ बजे अनुसन्धानको हलमा छिराइन्थ्यो। बेलुका ७ बजेसम्म राखिन्थ्यो,' आँखाभरि टिलपिल आँशु पार्दै तारा सम्झिन्छिन्, 'मुख सुकेर ओठ पट्पट् फुट्थ्यो। म त 'फु' गर्दा पनि ढल्ने भइसकेकी थिएँ। राति ७-८ बजेदेखि बिहानको ४-५ बजेसम्म लगातार हलभित्र राखेर सोधपुछ गरिन्थ्यो।'
कुटपिट हुन थालेपछि ताराले धेरै पटक चिच्याइन्। धैरै पटक आफू निर्दोष रहेको बताइन्। ज्वाइँको ज्यान बच्छ भनेर उहाँकै आग्रहमा कबुल गरेको भनिरहिन्। तर, कसैले सुनेनन्। खाली एउटै प्रश्न सोधियो, 'खोइ त्यो गन कहाँ छ?'
दिदीलाई पिट्दा बहिनीले बोल्लिन् कि भनेर प्रमिलाकै अगाडि तारालाई निर्मम पिटियो। तैपनि उनले भनिरहिन्, 'म निर्दोष छु।' 'मलाई खुट्टाको पैतालामा पानीको पाइपले पिट्थे । खुब दुख्थ्यो, खुब चिच्याउथेँ, खुब रुन्थेँ,' लबकुमारकी जेठीसासू तारा भन्छिन्, 'तर पिट्न छोड्दैनथे। त्यो पाइपले पिट्दा एक-दुई घण्टासम्म निलो डाम बस्थ्यो अनि गइहाल्थ्यो। मेजर दीपेन्द्र श्रेष्ठ, क्याप्टेन गणेश ढकाले सबै त्यहीँ उभिएका हुन्थे। उनीहरू आदेश दिन्थे, महिला प्रहरीले पिट्थे। अग्लो किचनको र्याक थियो। त्यहाँ टाउको मुनि पार्न लाएर पछाडिबाट पिट्थे।'
तस्बिर : लवकुमारकी श्रीमती प्रमिला (बाँया) र जेठीसासु तारा
जसरी भन्यो, त्यसरी खुट्टा अड्याउँथिन्। ताराका अनुसार सेनाका सिपाहीहरू 'यो विप्लब पार्टीको मान्छे हो, लडाकु हो, हेर्नु त खुट्टा अड्याको भन्दै अनेक आरोप लगाएर पिट्थे। 'पानी खान दिँदैनथे। बिहानदेखि बेलुकासम्म, बेलुकादेखि बिहानसम्म एउटै कोठामा राख्थे। म त मर्न तयार भइसकेकी थिएँ। खास राणा शासन त आर्मीमा रहेछ, मलाई त्यतिबेला महसुस भयो,' त्यो सम्झँदा आज पनि प्रमिला भक्कानिन्छिन्।
'मेरो बहिनीलाई आर्मीको मेजरले 'तेरो बुढा तेरो जेठी सासूसँग लागेको छ, नत्र तैँले कबुल गर्नुपर्ने ठाउँमा किन त्यसले गर्यो?' सम्म भने,' जब ताराले आफूमाथि लागेको यो मिथ्या आरोप सम्झिइन्, उनको आँखाबाट आँशु रोकिएन, केहीबेर रोइरहिन्।
'म त्यो मेजर दीपेन्द्र श्रेष्ठलाई कहिल्यै बिर्सन सक्दिनँ। त्यतिबेला मैले उसलाई जवाफमा 'हजुरको पनि घरमा आमा, दिदीबहिनी होलान्' भनेकी थिएँ। त्यतिबेला पनि मलाई उल्टै 'तँ नबोल्, तँ अपराधीको मुखबाट यस्तो कुरा सुहाउँदैन' भन्दै थर्काइयो,' ताराले रुँदरुँदै सम्झिरहिन्, भनिरहिन्।
ताराका अनुसार ती मेजरले हिरासतमा थुनेको १९औँ दिन 'यो अपराधी हो' भन्दै उनी र प्रमिलाकै अगाडि लबकुमारलाई थुकेका थिए।
'मेरो श्रीमानलाई मेरै अगाडि पिट्नुहुन्थ्यो। मेरो अगाडि त यसरी नपिट्दिनू न प्लिज भन्थेँ,' लबकुमारकी पत्नी प्रमिला सम्झिन्छिन्, 'कहिले बुटले, कहिले बन्दुकले पिट्थे। क्याप्टेन भट्टराई र मेजर श्रेष्ठ दुवैले पिट्थे। यो गनको केसमा मेरो श्रीमानले धेरै यातना पाउनुभएको छ। यो यातनाको क्षतिपूर्ति कहिल्यै होला जस्तो लाग्दैन।'
०००
२५ दिनको हिरासत बसाइपछि तारा र प्रमिला दुवैलाई १०–१० हजार धरौटी तिराएर छोडियो। ताराका अनुसार त्यहाँ साँझ मापसे गरेर हो–हल्ला गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको झुटो मुद्दा लगाइएको रहेछ।
०००
२५ दिनको हिरासत यातनापछि तारालाई आमाले 'शरीर तेलले मालिस गर्दिन्छु' भन्दै बोलाएपछि उनी नजिकै रहेको माइतीघर गइन्। घर पुगेको पर्सिपल्ट फेरि एसपीको फोन आयो, 'तिम्रो घरमा ताल्चा लागेको रैछ। यहाँ हामीलाई पत्र आएको छ, तिमीलाई चितवन बोला'को छ।'
यातनाको पीडा कम हुन नपाउँदै आएको यो फोन कलले उनी फेरि तर्सिइन्। सुरुमा नजाने बताइन्। तर, एसपीले 'पछि अप्ठेरो पर्ला, गयो भने यताको जस्तै २५ दिन राखेर छोड्दिन्छ' भनेपछि उनी जान तयार भइन्।
तारासँगै लबकुमारका भाइलाई पनि प्रहरीले उदयपुरबाट चितवन लिएर गयो। लिएर जाँदा भाइलाई हतकडी लगाएको थियो तर तारालाई थिएन। रातको १ बजेतिर गाडी चितवन पुग्यो। उनीहरूलाई लिन प्रहरीको भ्यान आयो। सुरुमा हस्पिटल लगियो। मेडिकल चेक भयो। त्यसपछि सिधै हिरासत।
हात–हतियारको मुद्दामा उनीहरूलाई २५ दिन हिरासत राखेर अनुसन्धान गरियो। त्यसपछि जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश थियो।
'सरकारी वकिलले बयान लिने क्रममा पनि आर्मी आएको थियो,' तारा सम्झिन्छिन्, 'त्यहाँ पनि उनीहरूले मलाई हतियार खोइ भनेर सोधे। मैले मसँग छैन भनेँ। मैले ज्वाइँले भनेर बोलेको हो, नपत्याए मलाई गोली ठोक्दिनुस्सम्म भनेँ। तर, उल्टै 'तैँले नदिने रैछस्, तँलाई छोड्दैनौँ' भन्दै थर्काएर हिँडे।'
०००
तारा र भाइ पवन दुवैलाई फागुन २१ गते चितवन प्रहरीको हिरासतमा राखिएको थियो। पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि चैत २० गते कारागार पुगिन्।
ताराका श्रीमान् त्यतिबेला विदेशमा थिए, सानी छोरी घरमा। सबै छाडेर उनी हिरासतमा थिइन्। 'यो केसले मेरो जिन्दगी, मेरो धेरै कुरा सक्कियो, सर,' उनी भन्छिन्, 'अहिले प्रमिलाका लागि पनि सबै पैसा मैले हेरिरहेको छ। ऋण त कति भइसक्यो, कति।'
कारागार ल्याएको एक महिनापछि उनलाई भेट्न आमा उदयपुरबाट कारागार आउँदै थिइन्। खुशी थिइन्, उनी। 'ममी साढे ४ बजे गाडी चढ्नुभयो। उहाँ पतलैयाको जंगल आइपुग्दा उता मामलको हजुरआमालाई गोमन सर्पले डसेर बित्नुभएछ। खबर सुन्नासाथ बाटोबाटै फर्किनुभयो ममी। त्यो सुनेर म कति रोएँ, कति।'
सैनिक जवान लवकुमारको पुरानो तस्बिर
कारागारमै उनले चार दिन हजुरआमाको चार दिन किरिया बारिन्। 'मलाई फोनमा हजुरआमाले भन्नुभएको थियो, तँ निर्दोष छस् छोरी, छुट्छस्,' तारा भन्छिन्, 'सायद मलाई उहाँको आशिष लाग्यो, ११ महिना कारागारमा बसेपछि भाइ र म दुवैलाई अदालतले सफाइ दियो।'
कारागारमा हुँदा तारालाई हरेक दिन लाग्थ्यो– मैले नगरेको गल्तीको सजाय किन भोगिरहेको छु? जब उनी अदालतबाट सफाइ पाइन्, खुशीले अदालतभित्रै चिच्याइन्। यति खुशी भइन् कि, जिल्ला कारागार पुगेर सबै महिला कैदीहरूलाई लड्डु बाँडिन्।
यता सैनिक हिरासतमा चार महिनाको यातनापछि लबकुमार पनि त्यही कारागार आइसकेका थिए। भाइ र उनको त्यहीँ भेट भएको थियो। आफूलाई यातना दिएर फसाइएको वृत्तान्त उनले त्यतिबेला भाइलाई सुनाएका थिए।
प्रमिला पनि लबकुमार कारागार आएपछि केही समय चितवन नै बसिन्। दिनहुँ भेट्न गइन्, उनलाई हिरासत।
'शान्ति सेनाबाट फर्केपछि पार्टी दिने चलन रैछ। घरायसी समस्या कारण उहाँ बिदामा आएका बेला एक–दुई दिन ढिला पुग्नुभएको थियो। त्यतिबेला मेजर दीपेन्द्र श्रेष्ठले उहाँलाई दुई हप्ता हिरासतमा थुनेर कारबाही गरे। त्यही रिसमा उहाँले पार्टी दिन तयार नहुँदा भनाभन भएको रैछ। हतियार छानबिनका क्रममा मेजर श्रेष्ठले त्यो रिस फेर्यो,' लबकुमारको भनाई उद्धृत गर्दै श्रीमती प्रमिला सुनाउँछिन्।
000
गंगाधर ढकालको केस जिल्ला अदालतबाट सैनिक अदालतमा पुगेपछि यतिबेला सैनिकवृत्तमा कतै बयान हेराफेरि हुने त होइन भन्ने चर्चा छ। 'मैले गन चोरेको हुँ भन्ने गंगाधरलाई कतै भोलि सैनिक हिरासतमा यातना दिएर 'मलाई लबकुमार र सरोजले नै गन दिएको हो' भन्ने लगाउने त होइन, यतिबेला दुवैको परिवार न्याय पाउनेमा ढुक्क हुन सकेको छैन।
तर, आशा मरेको छैन। आफू ११ महिना जेलमा बसेर सफाइ पाएकी तारालाई अहिलेसम्म पूर्ण न्याय पाएको महसुस भएको छैन। 'जब मेरो ज्वाइँले सफाइ पाउनुहुन्छ, जब मेरो बहिनीको मुहारमा हराएको त्यो खुशी फर्किनेछ, सायद त्यही दिन मैले पूर्ण न्याय पाउनेछु,' उनले भनिन्।
शृंखलाको चौथो भाग
एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ- बयानमा हेराफेरी नहोस्
सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।…
शृंखलाको तेस्रो भाग:
दुई वर्षदेखि जेलमा रहेका दुई सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…