विराटनगर– लामो रस्साकस्सीपछि एमाले बुधबारदेखि औपचारिक रुपमा विभाजित भएपछि प्रदेश १ मा सरकार ढल्ने भएको छ। नेकपा एमाले नेता शेरधन राईले नेतृत्व गरेको सरकार संकटमा परेको छ।
९२ सांसद रहेको प्रदेश १ मा एमालेका मात्र ५१ जना सांसद छन्। माधव नेपाल समूहमा १६ सांसद छन्। राजेन्द्र राई, लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई नेपाल पक्षका सांसद हुन्।
१६ जनाले नै नयाँ पार्टी रोजे प्रदेशमा राई सरकारले विश्वासको मत गुमाउने भएको छ। एकल बहुमतमा रहेको राईका पक्षमा ३५ सांसद मात्र हुने भएकाले उनी अल्पमतमा पर्नेछन्। प्रदेश १ मा बहुमत पुर्याउन लागि ४७ सांसद आवश्यक पर्छ। त्यसपछि एमालेका ३५, कांग्रेसका २१, माओवादी केन्द्रका १५, विभाजित एमाले समाजवादीका १६, राष्ट्रिय समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १–१ जना सांसद हुनेछन्।
नयाँ सरकार बनाउनका लागि कांग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ जना पुग्छ। यसकारण यही गठबन्धनबाट मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ।