काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको लिग च्याम्पियन्स क्लब पर्सिजा जाकार्तासँग औपचारिक सम्झौता गरेका छन् ।
गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । लिगको अन्त्यमा उनको सम्झौता नविकरण गर्न सकेको थिएन् ।
यस सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै पर्सिजाले रोहितको स्थिानमा उज्बेकिस्तानका खेलाडीलाई अनुबन्धित गरेको थियो । तर, उनको बहिर्गमनले अपेक्षित प्रदर्शन गर्न नसकेपछि रोहितलाई पुनः क्लबमा अनुबन्धका लागि बोलाइएको थियो ।
रोहित केहि साता अघिमात्र इन्डोनेसिया पुगेका थिए । पर्सिजाको समर्थकमाझ निकै लोकप्रिय रहेका रोहितको बहिर्गमनले क्लब निकै आलोचित भएको थियो । समर्थकहरुले रोहितलाई फिर्ता बोलाउन क्लबलाई सामाजिक संजालमार्फत दबाब पनि दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४