काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै माधव कुमार नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा उनीनिकट मानिने केही नेताहरू सहभागी नहुने भएका छन्। नेकपा एमालेमा रहँदा नेता नेपाललाई साथ दिएका भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई नेपालको नयाँ पार्टीमा सहभागी नहुने भएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएका बेला रावल, विष्ट र भट्टराईले खुलेरै नेपाललाई सहयोग गरेका थिए। तर प्रतिनिधि सभा दोस्रो पटक पुनःस्थापना भएर प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका थिए। यसपछि रावल कुनै पनि पक्षमा खुलेका छैनन्। विष्ट र भट्टराईले भने राजनीतिक दल फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउनेवित्तिकै फिर्ता लिन माग गरेका थिए।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बुधबार अध्यादेश जारी गरेकी थिइन्। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले नयाँ पार्टी बनाउन सक्ने व्यवस्था गरिएको थियो। यसअघि दुवै निकायका ४० प्रतिशत सदस्यले मात्र नयाँ दल बनाउन सक्ने व्यवस्था थियो।
अध्यादेश जारी भएसँगै नेता नेपालले नयाँ पार्टीको नाम पनि टुंगो लगाएका छन्। नेपाल समूहको बैठकले नेकपा एमाले समाजवादी नाम राख्ने निर्णय गरेको छ। चुनाव चिन्हका विषयमा भने छलफल जारी रहेको रहेको बताइएको छ।
यता, जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने तयारी गरेको छ। अध्यादेश प्रमाणीकरण भएपछि दल दर्ताको तयारी भएको ठाकुर निकट एक नेताले जानकारी दिए। उनका अनुसार पार्टीको अध्यक्षमा महन्थ ठाकुर रहने छन् भने चुनाव चिन्ह साइकल रहने बताइएको छ।
११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन्।