धनगढी- दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाइसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया प्रतियोगितको फाइनल प्रवेश गरेको हो ।
अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८.३ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ७९ रन बनाउन सक्यो । काठमाडौंका लागि गोरभ तोमारले सर्वाधिक २६ रन बनाउन बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसक्दा काठमाडौं पराजित भएको हो । कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११-११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

अत्तरियाका लागि सन्नी पटेलले तीन विकेट लिए । उनले चार ओभरमा मात्र १८ रन खर्चदै तीन विकेट लिए । कप्तान दिपेन्द्रले पनि उत्कृष्ट चार ओभर गर्दै मात्र ८ रन खर्चेर एक विकेट लिए । त्यस्तै कृष्ण सिंह ऐरी र भुवन कार्कीले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ११ रन जोडेको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन जोडेका थिए । उनले ३४ बलको सामना गर्दै ५ चौका प्रहार गरे ।

त्यस्तै सन्नी पटेलले २८ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेका हुन् । सुबेन्दु पाण्डेय १६ र जयकिसन कोल्सावालाले १३ जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौंका लागि अंकित दवास र सूर्य तामाङले समान दुई दुई विकेट लिए । त्यस्तै योगेन्द्र सिंह कार्की र रासिद खानले एक एक विकेट लिए । अब अत्तरियाले फाईनल खेल दोस्रो क्वालिफायर विजेता टोलीसँग खेल्ने छ । दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४