काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले जारी गरेको विवरण अनुसार तारकेश्वर नगरपालिका–११ स्थित आराध्या मसला तथा किराना पसललाई २० हजार रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका–१० स्थित जोशी किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, बुढानिलकण्ठ–१० कै सुदुर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
यसैगरी, लाजिम्पाटस्थित कुरीलो प्रा.लि., चावहिलस्थित अस्केटचा र नेपालटारस्थित जय पशुपति काठ तथा प्लाई उद्योग प्रा.लि.लाई आवश्यक कागजातसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमन गरिएका अन्य २१ वटा फर्म तथा उद्योगहरूलाई भने व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरी सच्याउन निर्देशन दिइएको छ। सामान्य निर्देशन पाउनेहरूमा भाटभटेनी सुपरमार्केट (मध्यपुर थिमी शाखा), खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, विभिन्न फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्महरू रहेका छन्।
विभागले चाडपर्व तथा नियमित बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता हितविपरीत काम गर्ने फर्म तथा व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने क्रमलाई निरन्तरता दिएको जनाएको छ।