सुर्खेत – कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता’को उपाधि रुकुमपश्चिम र कालिकोटले कब्जा गरेका छन्।
प्रतियोगीतामा पुरुषतर्फ रुकुमपश्चिम र महिलातर्फ महिलातर्फ कालिकोट विजयी भएका हुन्। विजेता दुबै टिमले एक–एक लाख रुपैयाँ पुरस्कार र मेडल प्राप्त गरेका छन्।
पुरुषतर्फ रुकुमले सल्यानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो। जितसँगै रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ। खेलमा सल्यानलाई रुकुमले २८–२६, २५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो।
त्यस्तै सल्यान उपविजेता बनेको छ भने घरेलु टोली सुर्खेतले तेस्रो स्थानमा जित्त बुझाएको छ। समूह चरणको खेलमा लगातार जित हातपार्दै शिर्षस्थानमा रहदै आएको सल्यान फाइनलमा भने हार भोग्न बाध्य भएको हो। सुरुका खेलमा राम्रो प्रर्दशन गरेपनि अन्तिममा आफुलाई सम्हाल्न नसक्दा सल्यानले उपाधि उचाल्न सकेन। उपविजेताले सल्यानले ७५ हजार, मेडल र तेस्रो स्थान प्राप्त गरेको सुर्खेतले ५० हजार पुरुस्कार र मेडल प्राप्त गरेका छन्।
त्यस्तै महिलातर्फ भने कालीकोटले रुकुम पश्चिमलाई ३–० को सोझो सेटमा हराउँदै एक लाख र मेडल हात पार्यो। उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँमै चित्त बुझाएका छन्। महिला तथा पुरुष दुबैतर्फको फाइनल खेलमा खेलाडीहरुबिच कडा प्रतिस्पर्धा भएको थियो।
कर्णालीमा लोकप्रिय मानिने भलिबल खेललाई सरकारले २०७४ जेठ ८ गते राष्ट्रिय खेलको रुपमा मान्यता दिएको छ। प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका पुरुष तथा महिलाको दश–दश वटा टिमको सहभागीता रहेको थियो। फागुन १ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४