सुर्खेत- जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको जडिबुटीले स्थानीयको जीविकोपार्जन र रोजगारीमा योगदान पुर्याएको छ।
जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको सरकारी तथा गैरसरकारी कार्यालयहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा जडिबुटी संकलनबाट स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्।
डिभिजन वन अधिकृत दीपेश केसीले गोष्ठीमा वन अतिक्रमण नियन्त्रण, वन डढेलो व्यवस्थापन, बिरुवा उत्पादन, वृक्षारोपण, वन्यजन्तु अपराध नियन्त्रण, जडिबुटी निकासी तथा राजस्व संकलनलगायतका क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार कार्यालयले उक्त आर्थिक वर्षमा ८२÷३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
जाजरकोटबाट गत आर्थिक वर्षमा टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज र धुपीको पातलगायत ३७ प्रजातिका जडिबुटी निकासी भएका छन्। तीमध्ये टिमुर र झ्याउबाट मात्रै उल्लेख्य आम्दानी भएको कार्यालयको तथ्यांक छ।
निजी आवादी, सामुदायिक वन र सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट गरी १ लाख ९८ हजार ७५९ किलो टिमुर निकासी भएको छ।
निजी आवादीबाट १ लाख ३ हजार ५५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारी वन क्षेत्रबाट ४२ हजार ६८७ किलो टिमुर संकलन भएको हो।
संकलनस्थलमै प्रतिकिलो ५५० देखि ६५० रुपैयाँसम्म बिक्री हुने टिमुरको औसत मूल्य ६०० रुपैयाँ मान्दा स्थानीयले यसबाट मात्रै करिब १२ करोड रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै झ्याउ संकलनबाट तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको डिभिजन वन कार्यालयले जनाएको छ।
वन क्षेत्र नै ग्रामीण अर्थतन्त्रको आधार
जाजरकोटको कुल भूभागको ६०.१८ प्रतिशत वन क्षेत्रले ओगटेको छ। वन, वन्यजन्तु, जडिबुटी तथा जैविक विविधताले धनी जिल्लामा जडिबुटी संकलन स्थानीयको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ।
जडिबुटी संकलनले स्थानीय समुदायको आयआर्जन, रोजगारी, जीविकोपार्जन तथा सामुदायिक विकासमा योगदान पुर्याएको डिभिजन वन अधिकृत केसीले बताए। उनका अनुसार जडिबुटीको व्यवस्थित संकलन र उत्पादन विस्तार गर्न सके ग्रामीण अर्थतन्त्रमा यसको योगदान थप बढाउन सकिन्छ।
जडिबुटीबाहेक वन क्षेत्रबाट प्राप्त राजस्व तथा सामुदायिक वनको आम्दानी पनि उल्लेख्य रहेको छ। डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा १ करोड ३ लाख ५८ हजार ३५४ रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै ६८ लाख १६ हजार १६५ रुपैयाँ मूल्य अभिवृद्धि कर र सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९३४ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ।
जडिबुटीबाट करोडौँ आम्दानी भइरहे पनि वन संरक्षण र व्यवस्थापनमा विभिन्न चुनौती देखिएका छन्। वन डढेलो, अतिक्रमण, मानव–वन्यजन्तु द्वन्द्व तथा अवैध वन पैदावारको चोरी निकासीलाई कार्यालयले प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।
कार्यालयको अभिलेखअनुसार जिल्लामा १ हजार २२५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। गत आर्थिक वर्षमा वन तथा वन्यजन्तु अपराधसम्बन्धी पाँचवटा मुद्दा अभियोजन भई फछ्र्योट भएका छन्।
सोही अवधिमा ३८ वटा सामुदायिक वनमा ५५ पटक डढेलो लागेको थियो। सुरक्षा निकाय, वन उपभोक्ता, स्थानीय तह र समुदायको सहभागितामा डढेलो नियन्त्रण गरिएको कार्यालयले जनाएको छ।
जिल्लामा बाँदर, भालु, जंगली बँदेल र चितुवाबाट बालीनाली, पशुधन तथा मानवीय क्षति हुने गरेको छ। वन्यजन्तुबाट पीडितलाई गत आर्थिक वर्षमा तीन लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको केसीले जानकारी दिए।
जडिबुटी उत्पादन तथा वन क्षेत्र विस्तारका लागि डिभिजन वन कार्यालयले वृक्षारोपण कार्यक्रमलाई समेत अघि बढाएको छ।
जडिबुटी विकास कार्यक्रमअन्तर्गत निजी आवादी, सामुदायिक वन, कबुलियती वन तथा सार्वजनिक जग्गाको करिब ४० हेक्टर क्षेत्रमा टिमुर, रिठ्ठा, सिसौ, खयर, बोधिचित्त, तेजपात, ओखर, चिउरी र बोझोलगायतका करिब ५५ हजार बिरुवा रोपिएको छ।
सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन उपभोक्ता समूह तथा निजी जग्गाधनीमार्फत बिरुवा रोपिएको कार्यालयले जनाएको छ।
त्यस्तै, डिभिजन वन कार्यालय परिसरमा रहेको बहुवर्षीय नर्सरीमा करिब ५० हजार एकवर्षीय तथा बहुवर्षीय बिरुवा उत्पादन गरिएको र त्यसमध्ये करिब ११ हजार बिरुवा वितरण गरिएको छ।
जडिबुटीको व्यावसायिक उत्पादन, दिगो संकलन र वन संरक्षणलाई सँगसँगै अघि बढाउन सके जाजरकोटको प्राकृतिक स्रोत स्थानीयको आयआर्जन र समृद्धिको थप आधार बन्न सक्ने देखिन्छ।