काठमाडौं। उत्तरी छिमेकी चीनसँगका तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुँदा सरकारको दैनिक करोडौँ राजस्व घुम्दै गएको छ। तातोपानी, रसुवा र कोरला नाका बन्द हुँदा राजस्व संकलनमा ठूलो धक्का पुगेको हो।
दैनिक करोडौँ राजस्व घुम्दै जाँदा सरकारको वार्षिक राजस्वको लक्ष्यमा समेत असर पर्ने देखिएको छ।साउन १ गतेदेखि तातोपानी नाका बन्द छ। गत भदौ १० विनाशकारी भोटेकोशी बाढीले सडक, बन्दरगाह, पुललगायत संरचना क्षतिग्रस्त बनाएपछि रसुवा नाका पनि अनिश्चितकालका लागि बन्द भएको छ।
तातोपानी र रसुवा नाकाको विकल्पका रूपमा प्रयोग हुँदै आएको कोरोला नाकासमेत पछिल्लो बाढीपहिरोका कारण बन्द भएको भन्सार विभागले जनाएको छ। अन्तर्राष्ट्रिय व्यापार हुने उत्तरतर्फका सबै नाका बन्द भएपछि स्थलमार्गबाट हुने चीनसँगको आयात–निर्यात प्रभावित भएको छ। यी तीन वटै नाका बन्द हुँदा चीनतर्फका नाकाबाट संकलित राजस्व समेत घुमेको छ।
दैनिक चीनतर्फका नाकाबाट संकलीत करोडौं राजस्व घुम्दै जान थालेपछि सरकारको वार्षिक राजस्व संकलनमा समेत धक्का पुग्ने देखिन्छ। भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले वार्षिक राजस्व लक्ष्यको चीनतर्फका नाकाबाट वार्षिक ५० अर्ब रुपैयाँ जति राजस्व सकंलन हुने गरेको बताए। वार्षिक कुल राजस्वको १२ देखि १५ प्रतिशतसम्म चीनतर्फको हिसा पर्ने गरेको उनले बताए।
चीनतर्फका तीववटै नाका बन्द भएपनि राजस्वमा भने त्यस्तो असर नदेखिएको बताउँदै सूचना अधिकारी बर्तौलाले अहिलेसम्म हेर्दा गत वर्षको तुलनामा १५ प्रतिशत राजस्वमा वृद्धि नै देखिएको बताए। उनले भने, ‘असर त परिहाल्छ नि! ल्याण्ड कस्टमबाट आउनुपर्ने, उता सीबाट आउँदा ४५/५० दिन ६० दिन कुर्नुपरर्यो। यहाँ अगाडि नै रियलाइज हुन्थ्यो। मान्छे व्यापारीले व्यापारिक दृष्टिले आर्थिक रूपबाट नि त असर त यसै पर्छ नि! ४५ दिन अगाडि आएर चलायमान हुन्थ्यो। राजस्व ४५ दिन अगाडि आउँथ्यो। अब ४५ दिन पछाडि आउँछ/आए। असर त यसै हुन्छ नि!’
चीनतर्फका नाकाबाट लक्ष्य अनुसार राजस्व संकलन भएन
गत आर्थिक वर्ष २०८२/८३ मा चीनतर्फका तीन वटै नाकाबाट लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन। तीन वटा नाकाको वार्षिक राजस्वको लक्ष्य मध्ये ७६ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि ३५ अर्ब २३ करोड राजस्व संकलन भएको थियो। यी तीन नाकाबाट वार्षिक राजस्व लक्ष्यको १३ प्रतिशत मात्रै संकलन भएको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्ष तातोपानी नाकाको वार्षिक राजस्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा लक्ष्यको आधा मात्रै राजस्व संकलन भएको छ। वार्षिक लक्ष्यको १४ अर्ब ५३ करोड राजस्व संकलन भएको हो।
यस्तै, रसुवा नाकाको वार्षिक राजस्व लक्ष्य ४० अर्ब १६ करोड रहेकोमा १३ अर्ब ७५ करोड मात्रै संकलन भएको छ भने, कोरला नाकाको वार्षिक लक्ष्य १२ अर्ब एक करोड रहेकोमा ६ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ।
सरकारले चालू आर्थिक वर्ष २०८३/८४ मा चीनतर्फका तीन वटा नाकाबाट वार्षिक ५९ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो। तर, चालू आवको दुई महिना नबिदै बाढी पहिरो लगायत विभिन्न कारण गर्दा अहिले तीनवटै नाका बन्द अवस्थामा रहेका छन्। सरकारको चालू आवमा वार्षिक राजस्व संकलनको लक्ष्य १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ रहेको छ।