काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त अरब इमिरेट्सको स्थायी नियोगमा भएको भेटवार्तामा नेपाल–यूएई सम्बन्धका विविध पक्षबारे छलफल भएको हो।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य बाढीबाट प्रभावित समुदायका लागि संयुक्त अरब इमिरेट्स सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा मानवीय सहयोगप्रति गहिरो आभार व्यक्त गरेका थिए।
यूएईले बाढी प्रभावित समुदायका लागि थप २ करोड ५० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा पनि मन्त्री खनालले धन्यवाद दिएका थिए।
भेटवार्तामा दुवै पक्षले आपसी हितका विषयमा रचनात्मक छलफल गरेका थिए। नेपाल र यूएईबीचको घनिष्ठ तथा सहकार्यपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उनीहरूबीच सहमति भएको थियो।
दुवै पक्षले श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, सम्पर्क सञ्जाल तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्य लगायतका पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल गरेका थिए।
