काठमाडौं । नेपालीहरूको महान् चाड दशैं तिहार नजिकिँदै गर्दा पनि बजारमा भने कपडाको व्यापार व्यवसायमा चहलपहलसँगै माग बढ्न सकेको छैन्। विगतका वर्षहरूमा जस्तो यो वर्ष नेपालको कपडा तथा सिलाई बजारमा व्यापारिक चहलपहललगायत माग देखिएको छैन।
विगतका दिनमा नेपालीको दशैं नजिकिँदै गर्दा बजारको रौनक छट्टै हुन्थ्यो। उपत्यकामा बसोबास गर्ने सर्वसाधारण र व्यवसायीको दशैं नजिकिँदै गर्दा पसल पसललगायत चोक चोकमा मानिसको भीड निकै हुन्थ्यो। तर, यो वर्ष बाढी पहिरोलगायत विभिन्न घटनाक्रमले गर्दा सर्वसाधारणको क्रयशक्ति घट्नुका साथै बजारमा खासै चाडपर्वको मुखमा पनि व्यवसाय सुस्त बनेको व्यवसायीहरूले बताएका छन्।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष उद्धवबहादुर थापा मगरका अनुसार अघिल्ला वर्षहरूमा दशैँ–तिहारको समयमा कपडा किन्ने र सिलाउनेको ठुलो भीड हुने गरे तापनि यस वर्ष भने माग निकै घटेको छ।
विशेष गरी चाडपर्व र औपचारिक कार्यक्रमहरूका लागि प्रयोग हुने सटिङ र सुटिङका कपडाहरू भारतबाट आयात हुने गर्दछन्। तर, हाल बजारमा त्यस्ता कपडाको उल्लेख्य आवश्यकता वा चाप देखिएको छैन।
थानका बढी जस्तो कपडाहरू ९० प्रतिशत जति भारतबाट आयात हुने गरेको छ। रेडिमेड अर्थात् सिलसिलाई कपडाहरू धेरै जस्तो चाइनाबाट आयात हुँदै आइरहेको छ। बजारमा माग कम भए तापनि कपडा र सामग्रीको अभाव भने छैन।
चीनबाट आयात हुने रेडीमेड कपडाहरू बजारमा उपलब्ध भइरहेकाले हालसम्म आपूर्तिमा कुनै समस्या वा अप्ठ्यारो महसुस नभएको अध्यक्ष मगरले बताए। विगतका वर्षहरूको तुलनामा यसपालि समग्र व्यावसायिक गतिविधि सुस्त रहनुले साना तथा मझौला कपडा व्यवसायीहरू चिन्तित बनेका छन्।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले चाडपर्वलाई लक्षित गरी पोशाक तथा कपडाको आपूर्ति व्यवस्थापनमा ठुलो समस्या नरहेको बताए। हालै गएको बाढी पहिरोका कारण केही कच्चा पदार्थ र तयारी सामानमा क्षति पुगेको भए पनि वैकल्पिक उपायहरू अपनाएर बजार व्यवस्थापन भइरहेको उनको भनाइ छ।
उत्तरी नाका रसुवागढीमा पहिरोका कारण समस्या देखिएपछि वीरगन्ज, विराटनगर र भैरहवाजस्ता वैकल्पिक भन्सार नाकाहरू प्रयोग गरेर चीन तथा भारतबाट सामान भित्र्याउने काम भइरहेको अध्यक्ष पाण्डे बताउँछन्।
उपत्यका जोड्न सडक मार्ग सुचारु भएसँगै भारतबाट हुने आयात सहज बनेको छ। साथै, चीनमा उत्पादन लागत बढेकाले अहिले धेरैजसो व्यवसायीहरूले कच्चा पदार्थ स्वदेशमै ल्याएर उत्पादन गर्ने क्रम बढाएका छन्।
बाढीका कारण निर्यात तथा आन्तरिक बजारका लागि ल्याइएका केही कच्चा पदार्थमा क्षति पुगेकाले ग्राहकहरूसँग समन्वय गरी सामान डेलिभरीको समय तालिका पुनः तालिकाबद्ध गरिएको संघले जनाएको छ। यस वर्ष दशैँ अलि ढिलो परेकाले पनि व्यवसायीहरूलाई बजारको तयारी र आपूर्ति व्यवस्थापन मिलाउन केही सहज भएको छ।
समग्रमा, प्राकृतिक विपत्ति र नाकामा देखिएका केही प्राविधिक कठिनाइका बाबजुद कपडा तथा पोशाकको आपूर्ति प्रणाली सुचारु नै रहेको छ। तर, आपूर्ति सहज भए पनि बजारमा ग्राहकको चहलपहल र खरिद क्षमतामा आएको कमीका कारण चाडपर्वको व्यापार सोचेजस्तो उत्साहजनक हुन सकेको छैन। आगामी दिनमा बजारमा केही चहलपहल बढ्नेमा व्यवसायीहरू आशावादी रहेका छन्।