बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आवको दुई महिनामा बैंकहरूको कर्जा ६१ अर्बले बढ्यो

चालू आवको दुई महिनामा बैंकहरूको कर्जा ६१ अर्बले बढ्यो

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्ब रुपैयाँले बढेको छ। 

चालू आवको साउन र भदौमा २० वटा वाणिज्य बैंकको कुल कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेर भदौ मसान्तसम्म ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको हो। असार मसान्तमा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो। दुई महिनामा कर्जा लगानी ६१ अर्बले विस्तार भएको देखिन्छ। 

कर्जा विस्तारको हिसाबले पहिलो दुई महिनामा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले असार मसान्तको तुलनामा २० अर्ब १ करोड रुपैयाँले कर्जा बढाउँदै भदौसम्म कुल कर्जा लगानी चार खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्‍याएको छ। यससँगै ग्लोबल आईएमई कुल कर्जा लगानीको आकारमा पनि पहिलो स्थानमा उक्लिएको छ। एभरेष्ट बैंकले दुई महिनामा १२ अर्ब ८८ करोड रुपैयाँ कर्जा थपेको छ।

बैंकको कुल कर्जा लगानी दुई खर्ब ६० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको कर्जा १० अर्ब ३१ करोड रुपैयाँ बढेर तीन खर्ब ३० अर्ब ७७ करोड पुगेको छ। कुमारी बैंकले सात अर्ब ६५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ थपेको छ। यस अवधिमा सिद्धार्थ बैंकको कर्जा चार अर्ब ८० करोड, माछापुच्छ्रे बैंकको ४ अर्ब ७४ करोड र एनएमबि बैंकको चार अर्ब २९ करोड रुपैयाँले बढेको छ। कृषि विकास बैंकले ६९ करोड रुपैयाँ कर्जा थप्दा नेपाल बैंकको कर्जा लगानी दुई अर्ब १९ करोड रुपैयाँले बढेको छ। तर, सबै बैंकको कर्जा लगानी भने बढेको छैन। 

दुई महिनाको अवधिमा २० मध्ये ८ वटा बैंकको कर्जा पोर्टफोलियो घटेको छ। सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ। बैंकको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर भदौ मसान्तमा दुई खर्ब चार अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। सानिमा बैंकको कर्जा तीन अर्ब ४६ करोड रुपैयाँले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको तीन अर्ब एक करोड, प्रभु बैंकको दुई अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको एक अर्ब ४१ करोड रुपैयाँले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा ५३ करोड र हिमालयन बैंकको ३१ करोड रुपैयाँले घट्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी पनि दुई करोड रुपैयाँले कम भएको छ।

प्रकाशित: Sep 24, 2026| 14:14 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्